जुम्ला - राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली जस्ता क्षेत्रलाई प्राथमिकतामा राखे मात्रै देशको अर्थतन्त्र बलियो बन्ने बताएकी छन्।
जुम्लाको चन्दननाथ माविको नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णालीको शिक्षा, स्वास्थ्य, सरसरसफाइका क्षेत्रमा प्राथमिकता दिन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रपतिले प्राकृतिक सम्पदाको धनी कर्णालीले देशको अर्थतन्त्र उकास्न मद्दत पुर्याउने विश्वास समेत व्यक्त गरिन्।
उनले भनिन्, 'विज्ञान तथा प्रविधिको विकाससँगै उन्नत कृषि उपजबाट समग्र देशको विकास हुने भन्दै कर्णाली जस्ता पछाडि परेका क्षेत्रमा अझै विशेष ध्यान दिनुपर्छ।'
राष्ट्रपति भण्डारीले कर्णालीको स्रोत र सम्पदाको राम्रो उपयोग गरी प्रभावकारी नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । शिक्षाको अपरिहार्यतामा जोड दिँदै राष्ट्रपतिले स्थानीय आवश्यकता अनुसारको पाठयक्रम निर्माण गरी कार्यन्वयनमा लैजान सुझाव दिइन्।
राष्ट्रपति भण्डारीले जुम्लाको चन्दननाथ मन्दिरमा पूजाआजा गर्नुका साथै कृषि उपजको प्रदर्शनीको अवलोकन समेत गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।