काठमाडौं– फिफा विश्वकप २०२६ का लागि दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जिन्टिना र ब्राजिलबीचको खेल अवरुद्ध भएको छ। दुवै देशका फुटबल समर्थकहरुबीच रंगशालामै कुटाकुट भएपछि निर्धारित समयमा खेल सुरु हुन सकेन।
रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समयानुसार बुधबार बिहान सवा ६ बजे खेल सुरु हुने भनिएको थियो। खेल सुरु हुनुभन्दा केही अगाडि दुई देशका समर्थकबीच हानाहान भयो।
दुबै देशका टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै समर्थकहरुबीच लडाइँ भएको थियो। दुवै टोलीका समर्थकबीच भएको झडपलाई नियन्त्रणमा लिन घटनास्थलमा रहेका प्रहरीले लाठी प्रयोग गरेका थिए।

अर्जेन्टिनाका खेलाडीहरूले ड्रेसिङ रुममा जानुअघि स्ट्यान्डमा रहेकाहरूलाई शान्त रहन आग्रह गरे। अर्जेन्टिनाले आफ्नो प्रतिद्वन्द्वी ब्राजिललाई स्थिति शान्त भएपछि मात्र फिल्डमा फर्किने बताएको थियो।
रियो दि जेनेरियोमा हुने खेलका सबै ६९ हजार टिकट बिक्री भइसकेका छन्। समर्थकहरुबीच झडप भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्य खेलाडीसहित ड्रेसिङ रुम फर्किएका थिए।

निर्धारित किक अफ टाइमको २० मिनेटपछि पनि ब्राजिलका खेलाडीहरू आफ्ना प्रतिद्वन्द्वीलाई पर्खिरहेका थिए। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी खेल सुरु भएको छ।
दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना ५ खेलमा १२ अंकसहित अग्रस्थानमा छ। ब्राजिल पाँचौं स्थानमा छ। १० टोलीको राउण्ड रोबिन प्रतियोगितामा दुवै टोलीले यसअघिका खेलहरू हारेका थिए।

तस्बिरहरु: एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।