मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
क्याल्सियम स्टोन
क्याल्सियम स्टोन सबैभन्दा धेरै हुने स्टोन हो। शरीरमा पानीको मात्रा कम भएमा शरीरका मिनरलहरु हाइपर स्याचुरेसन भएर मिर्गौलामा थिग्रिएर बस्न पुग्छ र पत्थरी बन्न जान्छ। यसलाई क्याल्सियम अक्जलेट, क्याल्सियम फोस्फेट स्टोन भनिन्छ।
युरेट स्टोन
युरेट स्टोनलाई युरिक यसिड स्टोन पनि भनिन्छ। यो चाहिँ रगतमा युरिक यसिडको मात्रा बढी भएमा हुन्छ। हामीले खाने प्रोटिनहरु युरिक एसिडका रुपमा पिसाबबाट जान्छ। तर, शरीरको रगतमा युरिक एसिडको मात्रा बढी भयो भने पिसाबबाट पूरै युरिक जान पाउन्न र मिर्गौलामा थिग्रिएर बसेको हुन्छ र यसले स्टोनको रुप लिन्छ।
स्ट्रुभाइट स्टोन
म्याग्नेसियम, एमोनियम र फोस्फेट थिग्रिएर बन्ने स्टोनलाई स्ट्रुभाइट स्टोन भनिन्छ। यो मिर्गौलाको इन्फेक्सन घरिघरि भइरहेका मानिसलाई हुने गर्छ।
सिस्टिन स्टोन
सिस्टिन पनि शरीरभित्र हुने एक प्रकारको तत्व हो। कहीलेकाहीँ रगतमा सिस्टिनको मात्रा धेरै हुँदा मिर्गौलाले फिल्टर गर्दा बढ्न सक्छ र स्टोन बनिदिन्छ। यो प्रकारको स्टोन धेरै कमलाई हुन्छ।
लक्षणहरु
१. ढाड पछाडि दुख्नु,
२. लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।
३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,
४. पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनुऽ,
५. हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।
६. बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन्।
उपचार
मिर्गौला पत्थरीको उपचारका लागि पहिला जाँच गरेर हेर्नुपर्ने हुन्छ। पिसाबमा इन्फेक्सन भए/नभएको, कल्चर, किड्नी फङ्क्सन टेस्ट, अल्ट्रा सोनोग्राफी, सिटी स्क्यान जस्ता परीक्षण गर्नुपर्छ। यदि, पिसाबको नलीमा पाँचदेखि सात मिलिमिटरको ढुङ्गा छ भने अलि बढी पानी पिउँदा आफैँ निस्केर जान सक्छ। तर, सात मिलिमिटरभन्दा माथिको पत्थरी भने सामान्य तरिकाले निस्किँदैन। पत्थरी निकाल्ने विभिन्न तरिका छन्। यसका लागि युरोलोजिस्टसँग सल्लाह लनिपर्छ।
ओपन सर्जरी
यो एक किसिमको जटिल शल्यक्रिया हो। यसमा बिरामीलाई बेहोस बनाएर चिरेर मिर्गौलाको पत्थरी निकालिन्छ। शल्यक्रियाबाट किड्नीमा भएका ठूला पत्थरीहरु निकाल्न सकिन्छ। र, किड्नीमा पत्थरी बाँकी रहने सम्भावना हुँदैन।
पर क्युट्यानियस नेफ्रोलिथोटोमी (पिसिएनएल)
यस विधिबाट उपचार गर्दा पत्थरी भएको ठाउँ पत्ता लगाई सोही ठाउँको छालामा सानो प्वाल बनाएर दुरविर छिराएर हेरिन्छ। त्यही दुरविनको माध्यमबाट पत्थरी फुटाइन्छ। र, यसरी फुटाइएका साना साना पत्थरीका कण बाहिर निकालिन्छ।
एक्स्ट्रा सक वेभ लिथोट्रिप्सी (इएसडब्ल्युएल)
यो विधिमा अल्ट्रसाउन्ड वेभबाट पत्थरीलाई फुटाइन्छ। यो उपचार विधिले धेरै ठूला पत्थरीहरु भने फुटाउन सक्दैन।
युरेटेरेसकेपी
पिसाबनलीमा दुरविन छिराएर पत्थरीलाई निकाल्ने विधिलाई युरेटेरेसकेपी भनिन्छ।
मिर्गौला पत्थरीबाट बच्ने उपाय
१. प्रसस्त पानी पिउने। सन्तुलित भोजन र नियमित व्यायाम गर्ने।
२. मधुमेह, रक्तचाप र मोटोपनलाई सन्तुलनमा राख्ने।
३. दुखाई कम गर्ने औषधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र लिने।
४. मिर्गौला सम्बन्धी समस्या भएमा बेलाबेलामा चिकित्सकको परामर्श लिइरहने।
५. कुनै समस्या नदेखिए पनि कम्तिमा वर्षको एकपटक पिसाब, रक्तचाप, मधुमेहको चेकजाँच गराउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।