काठमाडौं – संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने सूचीमा राखिएको छ।
संसद बैठक अपराह्न १ बजे बस्दै छ । संसदमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पहिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । त्यसपछि मन्त्री श्रेष्ठले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४’ लाई पास गरियोस् भन्ने प्रस्ताव गर्नेछन्।
सो प्रस्ताव बहुमतले पारित भएपछि विधेयकले ऐनको रुप लिनेछ । पारित भएको विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन लागू हुनेछ।
चिकित्सा शिक्षा विधेयक जनता र विद्यार्थीमुखी नभई माफियामुखी आउन लागेको भन्दै डा गोविन्द केसी ६ दिनदेखि आमरण अनशनमा छन् । डा केसीले आफूले विगतमा दिएका सुझाव र माथेमा कार्यदलको प्रतिवेदन अनुसार विधेयक पारित हुनुपर्ने माग राखेका छन्।
यसअघि पनि असोज ९ गते विधेयक संसदको कार्यसूचीमा राखिएको थियो । सोही दिन डा केसीले अनसन सुरु गरेपछि संसद २० गतेसम्मलाई स्थगित भएको थियो । संसद् स्थगित भएको र दशैं परेकाले डा केसीले अनसन स्थगन गरेका थिए । तर, संसद् सुरु भएसँगै तोडमोड गरेर विधेयक पास गराउन लागेको भन्दै डा केसीले १९ गतेबाट १३औं अनसन सुरु गरेका छन्।
यो बीचमा डा केसीले विधेयकमा १७ बुँदे संशोधन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।