चितवन- शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा पहिरो खसेको छ । ती ठाउँमा राति १२ः३० बजे पहिरो खसेको हो। पहिरो पन्छाउनका लागि गजुरीबाट एक्साभेटर आएर बाटो पन्छाउने काम सुरु गरेको थापाले बताए। मुग्लिनबाट फिस्लिङ १२ किमी काठमाडौँतर्फ पर्छ भने घोप्टेभिर करिब दुई किमी पर्छ।
यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला, मुग्लिनको मुखलगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको छ। पानी परिरहेकाले पूरै सडक छिचोल्न नसकेकाले के कति ठाउँमा पहिरो खसेको छ सो जानकारी आइनसकेको थापाले बताए।
सो सडकमा पहिरो खसेका ठाउँमा लेदो बगिरहेको र पानी परिरहेकाले पहिरो पन्छाउन अप्ठ्यारो परिरहेको थापाको भनाइ छ।
स्तरोन्नतिका क्रममा रहेकाले पहिरो खस्ने क्रम बढी हुँदा रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । रातभर रोकिएर बसेका सवारी साधन बिहान पनि पहिरो खसेर सडक अवरुद्ध भएपछि अलपत्र परेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।