काठमाडौं- कोशी प्रदेशमा सरकार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नियुक्ति गर्नुअघि प्रदेश प्रमुख कार्यालयमा सांसदहरूको सनाखत गराइएको थियो। कार्कीको पक्षका ४७ सांसदले सनाखत गरिदिएपछि उनी नै मुख्यमन्त्री नियुक्त भएका हुन्।
कार्की जस्तै मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू भने सनाखतका लागि उपस्थित भएका थिएनन्।
कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। 'नेपालको संविधानको धारा १६८ (५) बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु', खापुङले कार्कीलाई नियुक्त सम्बन्धी पत्रमा भनिएको छ, 'मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु।'
कार्कीको नियुक्तिसँगै कोशी प्रदेशमा सरकार गठनका लागि सबै संवैधानिक विकल्प प्रयोग भएको छ। र यसका लागि करिब आठ महिना मात्रै खर्च भएको छ।
प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले संविधानको धारा १६८ (१) अनुसारको सरकार गठनको सम्भावना थिएन।
त्यसैले सुरुवातमै १६८ (२) को सरकार गठनका लागि आह्वान भएको थियो। सोही अनुसार एमाले र माओवादी केन्द्र लगायतका दलको सहयोगमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनको सरकार ढलेपछि सोही उपधारा अनुसार कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए। तर पहिलो पटक उनको नियुक्त असंवैधानिक र दोस्रो पटक उनले लिएको विश्वासको मत असंवैधानिक ठहर भएको थियो।
चौथो मुख्यमन्त्रीका रुपमा पुनः कार्की नै आएका थिए। उनी संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनले पनि विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका थिए।
प्रदेश प्रमुख खापुङले असोज २० मा धारा १६८ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेका थिए। बहुमतको आधार देखाउन सक्ने प्रदेश सभाका जुनसुकै सदस्यले यस अनुसार दाबी प्रस्तुत गर्न सक्ने भएको र नयाँ मुख्यमन्त्री नियुक्त नभए मध्यावधि निर्वाचनमा होमिने भएकाले यो उपधाराको प्रयोगलाई चासोपूर्वक प्रतीक्षा गरिएको थियो।
बिहीबार माओवादी केन्द्रका आङ्बो र कांग्रेसका कार्कीले दाबी प्रस्तुत गरेका थिए। तर केही सांसदलाई दुवैले आफ्नो समर्थकको रुपमा प्रस्तुत गरेकाले प्रदेश प्रमुख खापुङले शनिबार सनाखत गराएका हुन्।
मुख्यमन्त्री नियुक्त भएका कार्कीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। उनले विश्वासको मत नलिएमा वा लिन नसकेमा ६ महिनाभित्र प्रदेश सभाका लागि अर्को निर्वाचन हुनेछ।
कार्की कांग्रेसका शेखर कोइराला पक्षका सांसद हुन्। उनलाई आफ्नो दलभन्दा पनि एमालेको समर्थन छ। उनका लागि एमालेका ३९ सांसदले हस्ताक्षरयुक्त समर्थन दिएका थिए। तर, केन्द्रीय गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरू एक ढिक्का भएकाले कोशीमा पनि कार्कीलाई मुख्यमन्त्री मानेर सत्ता निरन्तरता दिने सम्भावना ज्यादा देखिन्छ। तर यसबारे आगामी दिनमा नै प्रष्ट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।