एकपल्ट चन्द्रशमशेरले मेरो पिताजी राममणि दीक्षितलाई भने, ‘यो काम कृष्णप्रसाद (बिपीका बाबु) को होइन। उनको नाम त्यसै पोलियो। यो काम युगमायाको हो।’
त्यतिबेला मेरो पिताजी चन्द्रशमशेरकै जागिरे थिए। चन्द्रशमशेरलाई ‘हेर तिम्रो जनताको हालत’ भनेर फाटेको चोलो र थोत्रो धोती पठाउने काम सरदार कालिदासकी श्रीमती युगमायाले गरेकी थिइन्। युगमाया कृष्णप्रसादकी भाउजू (बिपीकी काकी) हुन्। जुद्धशमशेरकै पालमा उनको अगुवाइमा महिला संगठन खुलिसकेको थियो। चेतनाको हिसाबले निकै तीक्ष्ण।
कृष्णप्रसाद व्यापारी थिए, विराटनगर भन्सारको ठेक्का लिएको। पछि मौजा बुझाउन सकेनन्। सबै सम्पत्ति रोक्का भयो। त्यसपछि उनी भारत लागे। त्यहाँ अंग्रेजविरुद्ध आन्दोलनको तयारी भइरहेको थियो। त्यहीँ उनको भेट थुप्रै भारतीय नेताहरुसँग भयो। नयाँ विचार मन्थन गर्ने अवसर जुर्यो। राजनीतिक चेतनाको प्रादुर्भाव हुन थाल्यो।
...
बिपीसँग हाम्रो अर्को सम्बन्ध छ। मेरो पिताजी बिपीको मामा हुनुहुन्थ्यो। उनकी दिदीसँग बुवाको विवाह भएको थियो। घरमा निकै आवतजावत हुन्थ्यो।
२००७ सालअघि बिपीलाई भेटेको मलाई याद छैन। मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग भने पहिल्यैदेखि भेटघाट हुन्थ्यो। उनी मेरो ब्रतबन्धमा पनि आएका थिए।
मातृका कर्मचारी थिए, राणाकालमै। मातृका र बिपीको आमा फरक हुन्। मातृका प्रधानमन्त्री हुँदा बिपीको ठूलो भाषण थियो, टुँडिखेलमा। म पनि सुन्न गएको थिएँ। तर, गुण्डागर्दीको शैलीमा बिपीमाथि आक्रमण भयो। मञ्चमा बसेकी सुशीला (बिपीकी श्रीमती) माथि अभद्र व्यवहार गरियो।
त्यसपछि यी दुई दाजुभाइको झगडा घरमा सीमित रहेन। बाहिरै छताछुल्ल भयो।
...
बिपी र मातृकाको स्वभावमा आकाशपातालको अन्तर छ। मातृका कूटनीतिक स्वभावका थिए। त्रिभुवनको पनि अत्यन्त प्यारो। उनले पैसा पनि राम्रै कमाए। जहिल्यै राम्रो पदमा रहेर काम गरे। दरबारले खुसी भएर उनलाई जर्नेल पद दिएको थियो।
त्यसको ठिक उल्टो बिपी दुरदर्शी र स्पष्ट राजनीतिक सोच भएका शुद्ध नेता थिए। कुरा केही नलुकाउने। आफ्नो अडानमा चट्टानजस्तै अडिक। मेरो विचारमा यी दाजुभाइ मिलेर काम गरेको भए नेपालको उन्नति हुने थियो।
बिपी धेरै भारत बसे। त्यही भएर यहाँको प्रशासनिक वातावरणसँग त्यति घुलमिल थिएनन्। तर, मातृकाले सबै बुझेका थिए। उनीसँग प्रशासनमा काम गरेको अनुभव पनि थियो।
...
बिपीलाई सत्तामा नपुर्याउन भारत र खासगरी जवाहरलाल नेहरुले गोटी चाले। त्यसमा पनि मातृकाबाबुलाई नै प्रयोग गरियो।
मोहनशमशेरपछि मातृका प्रधानमन्त्री भए। त्यतिबेला भारतको नांगो हस्तक्षेप देखियो। नेपालीहरुले मातृका प्रधानमन्त्री भएको खबरै भारतीय रेडियोबाट थाहा पाए। २००९ सालमा राजा त्रिभुवन मोहनशमशेरको वर्तमान मन्त्रिमण्डल गठन गर्न नयाँ दिल्ली पुगेका थिए, नेहरुसँग परामर्शका लागि।
बिपीविरुद्ध त्यतिबेला चार वटा प्रधानमन्त्रीको प्रयोग भयो। केही नलागेपछि २०१५ सालमा निर्वाचन गर्नैपर्ने बाध्यता आयो। बिपीको समयमा देशलाई असर पर्ने कुनै सन्धि सम्झौता भएन।
...
""
प्रधानमन्त्री भएपछि पनि बिपी हाम्रो गैरीधारास्थित शान्ति निकेतनमा आइरहन्थे। उनमा एउटा विशेषता थियो, विपक्षीप्रति कहिल्यै उग्र नहुने। राणा शासन ढालेपछि पनि उनले कुनै सभा–समारोहमा राणाको विरोध गरेनन्।
गणेशमानजीप्रति ठूलो लगाव थियो। नारायणचौरमा बस्दा उनको बैठक कोठामा गणेशमानजीको फोटो थियो। उनी सार्वजनिक रुपमा कसैको विरोध गर्नुपरे गणेशमानजीबाट गर्न लगाउँथे।
बिपी र मातृकाबीच एकपल्ट हाम्रो घरमा रमाइलो कुरा भएको छ। त्यतिबेला मातृका प्रधानमन्त्री थिए। भाइटीका थियो। बिपी मेरी आमाबाट टिका थाप्न पहिला आइपुगे। प्रधानमन्त्री भएकाले मातृका अलि व्यस्त थिए। मेरो बुवाको खाना खाँदा धोती फेर्ने बानी थियो। बिपीले धोती नफेरी खाए। कुरा उठ्यो। बिपीले भने, ‘म त यस्तै हो। कहाँकहाँ पुग्नुपर्छ। साध्य छैन।’
उनले मातृकाबाबुको कुरा उप्काउँदै भने, ‘भिनाजु (मेरो बुवा) नअत्तालिनुस्। दाजु धोती बोकेर आउनुहुन्छ।’
नभन्दै मातृकाबाबु कागजमा बेरिएको धोती हातमा च्याप्दै गाडबाट ओर्लिए। घरमा हाँसोको माहोला बन्यो। बिपी पनि आफ्नो कुरा पुगेकोमा मुसुमुसु हाँसे।
मातृकाबाबु धोती फेरेर खाना खाने बेला बिपीले ठट्टा गरे, ‘बाहिर जाँदा दाजु (मातृका) यसरी नै खानुहुन्छ?’
....
बिपीको मन जति सफा थियो, अरुलाई पनि त्यस्तै देख्थे। मेरो जेठो छोराको पास्नीमा बिपी लगायत कांग्रेसका त्यतिबेलाका सबै हस्ती आएका थिए। पिताजीलाई थाहा थियो, घरमा राणाविरोधी कुराबाहेक केही हुँदैन।
हाम्रो घरमा चन्द्रशमशेरको ठूलो पोट्रेट फोटो थियो। बुवाले फोटोको पाखुरामा लेखिदिनुभयो, ‘मेरो भाग्य विधाता ईश्वर।’
बिपीहरु घर आए। उनले सबैलाई तान्दै आफैले त्यो पोट्रेट देखाए। अरुले त त्यसको अर्थ बुझेनन्। तर, बिपीले पत्तो पाए। त्यसपछि राणाविरोधी उग्र कुरा निस्किएन।
बिपीको अर्को गजबको स्वभाव थियो। उनी प्रवासमा भए पनि यहाँ कोही बिरामी परे सन्चो–बिसन्चो बुझ्न मान्छे पठाउँथे।
मेरो पिताजी बिरामी पर्दा मंगलादेवी (गणेशमानकी श्रीमति) लाई बुझन पठाएका थिए।
(नवीन अर्यालसँगको कुराकानीमा आधारित)
पहिलो पटक ०७४ भदौ २४ मा प्रकाशित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।