रमेशकुमार महत नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति तथा बागमति प्रदेश सभाका सदस्य हुन्। कांग्रेसको अहिलेको स्थिति, लोकतन्त्र तथा विकासका सन्दर्भमा महतसँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुराकानीको सम्पादित अंशः
अहिले नेपाली कांग्रेस कहाँ उभिएको छ?
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक दल हो। यो दलको गौरवपूर्ण इतिहास छ। नेपालको सबै लोकतान्त्रिक आन्दोलन र अभियानहरुको नेतृत्वकर्ता राजनीतिक दल हो, कांग्रेस।
तर आज अवस्था अलि फरक छ। इतिहासमा राणा शासनविरुद्धमा र प्रजातन्त्रको पक्षमा दृढ रुपमा उभिएको, राजाको अधिनायक बन्ने रुचिविरुद्ध लडेको, लोकतान्त्रिक व्यवस्थाकै विरोधमा सुरु भएको हिंसात्मक विद्रोहको प्रतिरोध गरेको दल जुन रफ्तारमा अगाडि बढ्नुपर्ने हो, त्यो रफ्तार समात्न भने सकेको छैन। अहिले नेपाली कांग्रेस लोकरिज्याइँ अर्थात् जे भनेर जनतालाई उद्धेलित बनाउन सकिन्छ, त्यही भनेर गरिने राजनीतिको विरुद्ध उभिनुपर्ने बिन्दुमा आएको देखिन्छ। नेपाली कांग्रेस त्यो दल हो, जसले क्षणिक राजनीतिक फाइदाका लागि जनताको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रतामा कुठाराघात हुने काम गर्दैन।
नेपालमा लोकतान्त्रिक पद्धतिको स्थापना, नेपालको आर्थिक विकासको जग बसाउन काम गरेको इतिहास स्थापना गरेको एउटा दल नेपाली कांग्रेसले आफूले गरेका विगतको गौरवपूर्ण कामहरुको प्रचार गर्न सकिरहेको छैन। यसले गर्दा एउटा तप्कामा कांग्रेसको नीति, कार्यक्रम र विगतका बारेमा यथार्थ र तथ्यहरु पुग्न सकेको देखिन्नँ। आज पनि नेपालमा सबैभन्दा सापेक्ष र विश्वव्यापी रुपमा स्वीकार्य नीति अंगिकार गरिकन यो दलले युवाहरुलाई जुन तहमा आकर्षित गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन।
आज नेपाली कांग्रेस त्यो बिन्दुमा उभिएको छ, जहाँ यो दलले ओजपूर्ण विगतका बारेमा जनस्तरमा थाहा दिनुपर्ने छ, अहिले देशैभर संगठन चलायमान गर्नुपर्ने छ र कांग्रेसले अंगिकार गरेको सिद्धान्त र नीतिले नै जनतालाई सवलीकरण गर्नसक्छ, देशको विकास गर्नसक्छ र नागरिक स्वतन्त्रता र अधिकार सुनिश्चित गर्नसक्छ भन्ने बुझाउनुपर्ने बिन्दुमा उभिएको छ। यसो भन्दै गर्दा दलको नेतृत्वले जनस्तरमा रहेका असन्तुष्टिहरुको गहिरो मूल्यांकन गर्दै त्यसको सम्बोधनसमेत गर्नुपर्ने अवस्था देखिन्छ। मूलतः नेपाली कांग्रेसले नेपालको लोकतान्त्रिक पद्धतिको विकास र अबको नेपालको उन्नतिको बाटो तय गर्नु पर्दछ।
जनस्तरमा रहेका असन्तुष्टिहरुको सम्बोधन गर्ने विषय उठाउनुभयो। तर सम्बोधन कसले गर्ने र कसरी गर्ने?
यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। आखिर राजनीतिको अन्तिम उद्देश्य भनेकै जनताको खुसी, सुख र भलाई नै हो। राजनीतिक दलहरु त जनताको संस्था हुन् नि। त्यसैले दलको केन्द्रमा जनहित नै हुनुपर्दछ।
आज समय बद्लिएको छ। सूचना प्रविधिमा तीव्र विकासहरु भएका छन्। यसले जनताको आवश्यकता र चाहनाको परिधि ठूलो बनाइदिएको छ। मलाई के लाग्छ भने नेपाली कांग्रेसले अब जनतामा बद्लिएको चाहना र आवश्यकता सम्बोधनको विधिहरु पनि तय गर्न आवश्यक छ।
जनस्तरमा आज जुन निराशा छ, त्यसको एउटा महत्त्वपूर्ण कारण पदमा बसेका र जनताका निराशालाई सम्बोधन गर्नुपर्नेहरुले पनि निरन्तर गुनासो मात्रै गर्ने परिपाटी पनि हो। जस्तो म पार्टीको जिल्ला सभापति छु, अब जिल्ला तहमा आम मानिसमा आशाको सञ्चार गर्ने दायित्व मेरो पनि हो। केन्द्रबाट स्थानीय तहसम्म दलको जुनसुकै तहको नेतृत्वमा बस्नेहरुले पनि व्यक्तिगत दायित्वबोध गर्दै पदको गरिमा र पदले सिर्जना गर्ने दायित्व अनुरुप कर्तव्य निर्वाह गर्ने हो भने जनस्तरमा रहेको निराशा र असन्तुष्टिहरुलाई छिटो सम्बोधन गर्न सकिन्छ जस्तो लाग्छ। जुनसुकै तहको नेतृत्वमा बसेकाहरुले पनि समस्याको उठान मात्र नभइ समाधानका विकल्पहरु पनि सुझाउँदा दलको शीर्ष नेतृत्व पनि त्यसलाई सम्बोधन गर्न बाध्य हुन्छन्।
पार्टीको शीर्ष नेतृत्व र केन्द्रीय समितिले यस कार्यमा सहजीकरण गरिदिनुपर्छ। पार्टीको नेतृत्व र जनताबीचको दूरी नबढोस भन्नेमा पार्टीभित्रका सबै तह र तप्कामा रहेकाहरु सजग हुनुपर्छ। नेतृत्वलाई एउटा सानो समूहले घेर्ने र सोही समूहले आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्ने क्रम बढेको जस्तो पनि देखिन्छ। यसमा केन्द्रदेखि स्थानीय तहसम्मको नेतृत्व सजग हुनैपर्छ।
अहिले त जनस्तरमा चरम निराशा देखिन्छ। देश छाड्ने क्रम बढ्दो छ। किन यस्तो भयो?
यसका केही कारणहरु छन्। पहिलो, मैले अघि नै चर्चा गरेजस्तै अहिले विश्वस्तरमै एकदमै छिटो परिवर्तनहरु भइरहेका छन्। संसार नै एउटा गाउँ जस्तो भइसक्यो। विकसित मुलुकहरुले आफ्नो विकासको गति तीव्र रुपमा अगाडि बढाइसकेको अवस्था छ। सूचना प्रविधिको विकासले यी सबै गतिविधि हेर्न सकिन्छ। यसले गर्दा जनतामा त्यही स्तरमा चाहना बढ्दै गइरहेको छ। तर देशभित्र जति आर्थिक प्रगति हुनुपर्ने हो, त्यो हुन सकेको छैन। साधनस्रोतहरु सीमित छन्। रोजगारी सिर्जना हुनसकेको छैन।
मानिसहरु किन देश छाडिरहेका छन्? यसका केही कारणहरु देखिन्छन्। जनता अझै पनि हाम्रो स्वास्थ्य सेवाको गुणस्तरसँग सन्तुष्ट छैनन्। युवाहरु विदेशी शिक्षा आर्जन गर्दा भविष्य सुनिश्चित हुने विश्वास गर्छन्। रोजगारी खोजिरहेकाहरुलाई हामीले काम दिन सकेका छैनौं। समग्रमा यो देशमा भविष्य छ भन्ने विश्वास दिलाउन शक्तिमा रहेकाहरु सफल भएको देखिन्नन्। अर्कोतिर, श्रम गर्नेहरुको जीवनस्तर उकासिनै सकेन। यस्तो किन भयो? यसको खोजी गर्ने एजेन्सीहरु नै उदासिन देखिन्छन्। सामान्य जनताको कुरै छाडौं। कतिपय शक्तिमा बसेकाहरुलेसमेत यो देशमा भविष्य नदेखेको जस्तो देखिन्छ। यस अवस्थाबाट अब मुलुकलाई बाहिर निकल्नु पर्दछ। उत्पादनको क्षेत्रमा लगानी बढाउनु पर्दछ। रोजगारी सिर्जना गर्नु पर्दछ। यसतर्फ सबैको ध्यान जानु पर्दछ।
अहिले नेपालले आर्थिक विकासको गति लिन किन नसकेको?
आर्थिक विकासका लागि राजनीतिक प्रतिबद्धता सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अहिले त पपुलिजम अर्थात लोकरिज्याइँको प्रतिस्पर्धा नै चलेको मात्रै हो। यसको अंश नेपालको राजनीतिमा पहिलादेखि नै कायम थियो। हामीले विगतमा स्रोतको पहिचान र दीगोपन ख्याल नै नगरी सामाजिक सुरक्षा कार्यक्रमहरुको घोषणा गरेका छौं। खासगरी कम्युनिस्ट दलहरुले राज्यको ढुकुटी हचुवामा वितरण गर्ने परिपाटी बनाए। राज्यले गर्ने आम्दानी र खर्चको बीचमा तादम्यता नै भएन।
यसबाहेक कम्युनिस्टहरुको त राजनीतिक अजेण्डा नै निजी क्षेत्रलाई नकारात्मक रुपमा हेर्ने भयो। यसले गर्दा प्रतिस्पर्धात्मक निजी क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो, हुनै सकेन। चलायमान निजी क्षेत्र बिना आर्थिक विकासले गति लिन कहाँ सम्भव छ? निजी क्षेत्रको मनोबल नबढाइकन उत्पादन र रोजगारी बृद्धि हुनैसक्दैन।
उत्पादन र रोजगारीको क्षेत्रमा त यथेष्ठ समस्याहरु देखिन्छन् नि?
उत्पादनमा नीतिगत तहमा केही समस्या छन्। हाम्रो निर्वाहमुखी अर्थतन्त्र छ। उदाहरणका लागि कृषिकै कुरा गरौं, हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौं। वैदेशिक रोजगारीको कारणले विगतको निर्वाहमुखी कृषी उत्पादनको अवस्था अन्त्य भयो। जग्गाहरु खण्डित भए। तर देशले औद्योगिक उत्पादनतर्फ पनि जान सकेन। यसले गर्दा त थप समस्या सिर्जना भयो। हामीभन्दा निकै सानो भइकन आज इजरायलले कृषिमै गरेको विकास अभूतपूर्व छ। दक्षिण कोरियाले पनि कृषिमा अत्यन्त राम्रो काम गरेको छ। हामीले कृषिलाई नै निर्वाहमुखीबाट नाफामूलक र प्रतिस्पर्धात्मक बनाउन चुकेका छौं।
केही समस्याहरु छन्। जग्गाको प्राप्ति जस्ता यावत विषयमा चाहिँ राज्यले नै सहजीकरण गरिदिनुपर्छ। मुख्य उधोगभन्दा ज्यादा लगानी जग्गामा लगाउनुपर्ने अवस्थामा उद्योगधन्दा कसरी फस्टाउन सक्छ? हेर्दा सामान्य लागे पनि यी र यस्ता समस्याहरुले जेलिएको छ, हाम्रो आर्थिक विकासको गति।
अस्थिर सरकार र नीतिगत अस्पष्टता जस्ता विषयलाई कसरी हेर्नुभएको छ?
आर्थिक विकास र समृद्धिको सवालमा नेतृत्वको भिजन र अडान अत्यन्त महत्त्वपूर्ण हुन्छ। यहाँनेर हामीले कांग्रेसकै पूर्व अर्थमन्त्री रामशरण महतको चर्चा गर्नु सान्दर्भिक हुन्छ। लोकतन्त्र पुनर्बहालीपश्चात २०४८ मा नेपाली कांग्रेसको सरकार बन्यो। त्यसको तीन चार वर्षमै माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो। विद्रोहले गाउँ र सहरको आवागमन नै ठप्प जस्तो बनायो। एउटा सहरबाट अर्को सहर पुग्नै कठिन जस्तो भयो। नागरिक तहमै असुरक्षाको भावना व्यापक थियो। तै पनि अर्थतन्त्रले लय गुमाएन नि। अर्थतन्त्रले एउटा बाटो छोडेन। मानिसहरुलाई अर्थतन्त्र तहसनहस होला भन्ने थियो। त्यस्तो भएन।
त्यसको पछाडि अन्य कारणहरुका बाबजुद डा रामशरण महतको निडर भएर नीतिहरु अंगिकार गर्नसक्ने आँट र क्षमता नै मुख्य कारण थियो। यस अतिरिक्त अर्थतन्त्रलाई सही बाटोमा डोहोर्याउन अर्को महत्त्वपूर्ण पक्षचाहिँ अर्थनीतिहरुको कार्यान्वयन गर्ने ठाउँमा मेरिटोक्रेसी अर्थात् योग्यतामा आधारित अवसरहरुको बाँडफाँट रहेछ। डा महतको अर्को विशेषता मेरिटोक्रेसीको सम्मान पनि थियो। उहाँसँग काम गरेका कर्मचारी वृत्तमा आज पनि यसको चर्चा हुन्छ। उहाँले पार्टी, व्यक्तिगत रुचि, निकटतालाई प्राथमिकता दिनुभएन। योग्यलाई नै जिम्मेवारीमा राख्नुभयो।
योग्यहरुलाई कार्यान्वयन गर्ने संयन्त्रमा राख्दा त्यसले लोकरिज्याइँभन्दा पनि विषयगत आधारमा काम गर्ने हुने रहेछ र त्यसले बिग्रनबाट रोक्ने रहेछ। यो अर्थतन्त्र मात्र नभइ अन्य क्षेत्रमा पनि लागू हुन्छ।
मलाई के लाग्छ भने अर्थतन्त्रलाई चलायमान बनाउन हामीले सही नीति लिनसक्ने र पपुलिजम र वितरमुखी प्रवृत्तिको विरोधमा खडा हुनसक्ने नेतृत्व चयन गर्न सक्नुपर्छ। यसको अतिरिक्त आर्थिक मामलालाई हेर्ने महत्त्वपूर्ण निकायमा मेरिटोक्रेसीलाई प्राथमिकता दिनुपर्छ। प्रक्रियागत झण्झट र भ्रष्टाचार हटाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र विकासको नयाँ सोचका साथ काम गर्नुपर्छ।
सम्भव छ त?
किन सम्भव नहुनु। सूचना प्रविधि (आईटी)को विकासले नयाँ सम्भावनाहरु खोलेका छन्। हामीले आईटीमा काठमाडौंमै बसेर रोजगारी सिर्जना गर्नसक्ने अवस्था छ। यस्तै विद्युत्मा आत्मनिर्भर हुँदै गर्दा विश्वासिलो विद्युत् आपूर्ति सुनिश्चित गरेर थप उद्योगहरु स्थापना गर्नसक्छौं।
स्थानीय सरकार आइसकेपछि यसले नयाँ सम्भावनाका ढोकाहरु खुला गर्नसक्थ्यो। त्यता पनि काम भएको छैन। जस्तै हरेक स्थानीय तहले पारदर्शी रुपमा कम्तिमा कृषिजन्य उत्पादनको लागि देखिने तहमा सहजीकरण गर्दै कृषि आत्मनिर्भरताको बाटोमा नयाँ सम्भावनाहरु खुला गर्न सकिन्थ्यो।
यसबाहेक विदेशमा काम गरेर फर्किएकाहरुको सीप र ज्ञानको उपयोगको लागि हामीले काम गर्न सकेका छैनौं। उनीहरुको सीपको सदुपयोग गर्नुपर्छ भन्ने रट लगाइरहने तर ठोस रुपमा काम नगर्ने परिपाटी अन्त्य हुनुपर्छ। वैदेशिक रोजगारीमा गएर आएकाहरुको सीपको उपयोगको लागि ठोस कार्यक्रम ल्याएर देशमा अवसरहरु छन् भन्ने विश्वास दिलाउन पनि उत्तिकै आवश्यक छ। रेमिट्यान्सबाट प्राप्त हुने रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन पनि दृढता र नीतिगत स्पष्टता आवश्यक छ। हामीले ठूलाठूला आयोजनाको बाटो त खोल्नैपर्छ, यसबाहेक स्थानीय तहमा साना तथा मझौला उद्यमीलाई प्रोत्साहित गर्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको लागि काम गर्न सकिने वातावरण तय गर्नसक्दा धेरै परिवर्तन हुनसक्ने ठाउँ देख्छु।
अब अलिकति व्यक्तिगत कुराकानी, नेपाली कांग्रेसको जिल्ला सभापतिको रुपमा यहाँ सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट भएको दिन त थप काम गर्ने ऊर्जा नै मिल्दैन नि। मुख्य कुरा ग्लानी हुने काम गरेको छैन। जनतालाई अहित हुने काम गरेको छैन। पार्टीलाई अहित हुने काम गरेको छैन।
मलाई सहभागीतामूलक लोकतन्त्रमा विश्वास लाग्छ। मैले सभापति भएपछि जिल्लास्तरमा हुने गतिविधिहरुमा कसरी पार्टीमा आस्था राख्ने इकाइ तहसम्मका साथीहरुलाई समेट्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिएको छु। नेपाली कांग्रेसलाई इतिहासबाट आजसम्म जोगाउने गाउँगाउँमा सदस्यहरु तथा परिवारहरुलाई यो दलप्रति अपनत्व बढाउन काम गरिहेको छु। विगतमा कांग्रेस भएकै कारण ज्यानसमेत तलमाथि हुनसक्ने अवस्थामा पनि आफ्नो घरको धुरीमा चारतारे झण्डा राख्ने सदस्यहरुलाईसमेत गौरव हुनेगरीको दलको रुपमा नुवाकोटमा कांग्रेसको विस्तारमा म लागेको छु।
भविष्यको राजनीति यात्रा कस्तो देख्नुहुन्छ?
मैले कर्म गर्ने हो। मैले कर्म गर्दा सबै बुबाआमा, दिदिबहिनी तथा दाजुभाइको हित हेर्ने हो। भविष्यको राजनीतिक यात्राभन्दा पनि अहिले मेरो दोहारो जिम्मेवारी छ, पार्टी सभापति र जनप्रतिनिधि, यी दुवै जिम्मेवारीलाई पूरा गर्नु मेरो प्रमुख दायित्व हो। सभापतिको रुपमा मैले गर्ने योगदानमा बढी केन्द्रित छु। यसबाहेक देशैभर युवापुस्तामा नेपाली कांग्रेसप्रति आकर्षण बढाउनसमेत मैले मेरो तर्फबाट योगदान दिनुपर्ने छ।
मलाई लाग्छ आज मैले गरेको सुकर्महरुले नै मेरो राजनीतिक भविष्य तय हुँदै जाने छ। हामीले नेतृत्वमा बस्दा त कार्यसम्पादन वैधता नै आर्जन गर्दै जाने हो। जनताको मन जितेर नै राजनीतिक भविष्य तय गर्ने हो। यसैतर्फ आफूलाई केन्द्रित गरेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।