बुटवलका जीवन तिवारी युवापुस्ताका सशक्त कवि हुन्। आक्रोश, विद्रोह वा विरह र वियोगलाई पनि जीवनकै एक सुन्दर पाटो मानेर स्वीकार गर्ने उनी पेसाले स्वास्थ्य सेवामा आवद्ध छन्। हाल बेलायतमा रहेका तिवारीका तीन कविता :
१. यादहरू
प्रत्येकजसो रात
तिम्रा यादहरू आउँछन्
मलाई बिथोल्न,
मेरो एकाग्रता भङ्ग गर्न ।
तिनै मिठा–नमिठा यादहरू
ओरालो लाग्छन् आँखाको दोबाटो हुँदै
सिरानी भिजाउँछन्
र बनाउँछन् मेरो हृदय– ‘फ्रोजन’ !
मैले पढ्ने, मैले लेख्ने
कविताका प्रत्येक पंक्तिहरूको बाटो भएर
आउँछन् तिम्रा यादहरू मलाई गिजोल्न ।
ऐस्ट्रेमा टनाटन भरिएका छन्,
तिम्रा कयौं यादहरू बनेर चुरोटका ठुटा
चियाको हरेक चुस्कीसँगै आएर
तिम्रा यादहरूले बिगारिदिन्छन्
प्रत्येकपल्ट चियाको स्वाद ।
लाग्छ, तिम्रा यादहरू हिँड्ने बाटो
तिम्रा यादहरूको राजमार्ग
तिम्रो प्रेमभन्दा बहुतै फराकिला छन् ।
यिनै यादहरूबाट भाग्दा–भाग्दै
म आइपुग्छु कुनै एकान्त ठाउँ
त्यहाँ पनि खै कता कताबाट आइदिन्छन्
अँध्यारोमा एक झिल्को उज्यालो आएजसरी,
मेरो एकान्त बिथोल्न
कहिले बतास सँगसँगै हुर्रिएर आउँछन्
कहिले झरी बनी भिजाउँछन् तिम्रा यादहरूले मलाई ।
तिम्रा यादहरूले सधैं बिथोलिरहन्छ मलाई
तिम्रा यादहरूले सधैं गिजोलिरहन्छ मेरो मनस्थिति ।
तिम्रा यादहरूले
दिन भन्दैनन्
रात भन्दैनन् ।
न एकान्त भन्छन्
न भीड भन्छन् ।
भन्दैनन् निद्रा
न भन्छन् अनिद्रा ।
थकान या विश्राम
केहि पनि भन्दैनन् ।
बस् बनेर पाहुना
थाहै नदिई आइदिन्छन्
टुप्लुक्क तिम्रा यादहरू ।
खास, तिम्रा यादहरूले खुबै जानेका छन्
मलाई कसरी सताउनुपर्छ !
०००
२. विद्रोही फूलहरू
स्पर्श गर्न नपाउँदै सुन्दर बिहानी किरण
देख्न नपाउँदै क्षितिजमा डुब्दै गरेको घामको लालित्य
भर्न नपाउँदै बैंशका अनेक रङ्गहरू
छर्न नपाउँदै मनमोहक सुवास
हुर्काउन नपाउँदै आफूभित्र अबोधपन–चञ्चलपन
हाँस्न नपाउँदै एउटा युगको हाँसो
नाच्न नपाउँदै हावाको तालसँगै
साँच्न नपाउँदै रहरका पोकाहरू
गाँस्न नपाउदै सम्बन्धका नयाँ गाँठोहरू
फक्रेर पुर्ण भई, बाच्न नपाउँदै मुठ्ठीभर जीवन
नपाउँदै खोल्न संसार हेर्ने आँखाहरू
सदियौँदेखि चुँडिदै आएका छन् बालख फूलहरू
कुरूप मान्छेको हातबाट
कहिले बन्न प्रेमको प्रतीक
कहिले सजिन पूजाका थालिहरूमा
कहिले बन्न गलाको श्रृङ्गार
मान्छेका अनेकन शौखहरूका लागि
शताब्दीऔंदेखि मारिँदै आएका छन्
कयौं कोपिला फूलहरू
अब यी फूलहरूलाई मञ्जुर छैन यस्तो जीवन
यी फूलहरू चाहँदैनन्
यस्तो गुमनाम मृत्यु
फूलहरू चाहन्छन् एउटा विद्रोहको सुरुवात गर्न
फूलहरू अबदेखि फूलमात्रै बन्न तयार छैनन्
पाखामा फूल्ने राता लालिगुराँसहरूले
रातो रगत माग्नेछन्
गुलाफहरू बनेर काँडा
घोच्नेछन् क्रुर हातहरू
साटेर मान्छेका आँखाहरू
फूलहरूले मनाउनेछन् अब आफ्नै प्रणय–दिवस
चुँडेर यी मान्छेको फक्रिँदो मुस्कान
फूलहरू चाहन्छन्,
माला सजाउन आफ्नो गलामा
निकालेर छातीभित्रबाट
मान्छेको मुटु, कलेजो
फूलहरूले सजाउनेछन्
अब आफ्नो पूजाको थाली
अब फुल्ने फूलहरू सधैंझैं कोमल हुने छैनन्
यिनीहरूले सिकेका छन् कठोर बन्न
अब फुल्ने फूलहरूले मगमगाउँदो सुवास छर्ने छैनन्
छर्नेछन् त विद्रोहको गन्ध
अब फुल्ने फूलहरू केवल आफ्नै लागि फक्रिने छन् !
अब यी फूलहरू तयार छैनन्
सजिन, बनेर मोनालिसा
कसैको हृदयको भित्तामा
फूलहरू तयार छैनन्
बनेर प्रेमको प्रतीक
निसास्सिन कुनै डायरी/किताबका पानाहरू भित्र
अब यी फूलहरू बनेर ‘फूलनदेवी’
फुक्न चाहन्छन् विद्रोहको हुङ्कार
यी फूलहरू कोमल छँदै छैनन्
अब छिट्टै सुनिन सक्छ हाम्रा कानहरूमा
फूलहरूको विद्रोहको आवाज !
०००
३. एक्लो
कलकल बगिरहने
खोलाहरूको बाटो भएर
एकदिन मेरो गाउँ शहर पस्यो
शहरमा मेरो गाउँले ठूला, चिल्ला सडकहरू देख्यो
अग्ला–अग्ला भवनहरू देख्यो
मिठो–मिठो खान सिक्यो
मेरो गाउँ एकदिन शहरको डिस्को छिर्याे
अचम्मै पर्याे सुनेर, त्यहाँको संगीत
छक्कै पर्याे देखेर, त्यहाँका मान्छेहरूको नाच
त्यतैको संगीतमा डुब्यो
त्यतैको नाचमा नाचिरह्यो
र बिर्सियो बाँसुरी र मादलको ताल
बिर्सियो टुङ्गना र सारङ्गीको धुन
बिर्सियो डम्फु र खैंजेडीको लय !
मेरो गाउँ एकदिन शहर सँग अघायो
र नाघ्यो सिमाना
अचेल मेरो गाउँ
शहर बनेर झुमिरहेछ विदेशका गल्लीहरूमा
निदाइरहेछ त्यतैका क्यासिनोहरूमा
समुद्रको छालसँगै बगाएको छ
मेरो गाउँले आफ्नो मौलिकता
बिर्सिएको छ आफ्नो बाटो
बिर्सिएको छ गाउँले शहरसम्म पुग्ने बाटो
बिर्सिएको छ गाउँले गाउँसम्म पुग्ने बाटो ।
मेरो गाँउ शहर बनेर
सीमा नाघेपछि कहिल्यै गाउँ फर्किएन
मेरो गाउँ शहर पसेपछि कहिल्यै घर फर्किएन
अचेल सुनसान छ मेरो गाउँ
अचेल सबैभन्दा एक्लो छ मेरो गाउँ ।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।