काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित भएको बताएका छन्। संविधानको मस्यौदा समितिका संयोजक समेत रहेका उनले संविधान माओवादी पार्टीबाट प्रभावित नभएको दाबी गरे, बरु कांग्रेसबाटै माओवादी प्रभावित बनेको उनको भनाइ थियो।
बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरसंवाद कार्यक्रममा सिटौलाले संविधानमा नेपाली किसान, मजदुर र आम समुदायको भावनाको प्रतिनिधित्व बमोजिम अधिकारको प्रत्यानुभूति गरेको बताए।
तर संविधान बनेपछि दलहरूले कार्यान्वयनमा जोड दिन नसकेको उनको भनाइ थियो। ‘संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौँ, संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिष्टहरूको सरकार बन्यो,’ उनले भने, ‘केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नभन्दा राज्य सत्ता कब्जा गर्ने नियत राखेको देखियो।’
सिटौलाले संविधान कार्यान्वयनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरुको क्रियाशिलताको खाँचो औंल्याउँदै संविधान जारी भएपछिका ८ वर्षको मूल्यांकन गर्दा राज्य संचालकहरुको प्राथमिकता संविधान कार्यान्वयन गर्ने तर्फ नहुँदा समस्या आएको बताए।
उनले राज्य संचालन गर्नेहरूले संविधानलाई यथास्थितिमा राखेर सत्तामा ध्यान केन्द्रित गरेको आरोप लगाए।
‘नेपाली कांग्रेससँग अहिले पनि सदन र सडकमा संविधान कार्यान्वयन गर्न सक्ने ताकत छ। यसलाई दृढताका साथ कार्यान्वयन गर्न कांग्रेसका सांसदहरु लाग्नुस्, संविधान बनेपछि कानुन बनाउन ढिलाइ गर्नु भनेको न्याय दिन ढिलाइ गर्नु न्याय नदिनु जस्तै हो’, उनले भने, ‘संविधानमा आधारभूत विशेषताहरु बहुदलीय प्रजातन्त्रकै छ।’
यसैगरी कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले वर्तमान संविधानमा मौलिक हक नै ३१ वटा राखिएको भन्दै यति धेरै मौलिक हक राखेर कार्यान्वयन गर्न नसक्नु वर्तमान सत्तारुढ दलहरुकै कमजोरी भएको बताए। उनले भने, ‘यो संविधान माओवादीबाट डोमिनेटेड छ। नत्र उसलाई बारम्बार सत्ताको नेतृत्व गर्न किन दिनु पर्यो?, यो संविधान फङ्कस्नेबल छैन। यसले मुलुकलाई निकास दिँदैन। बीपीले स्टालिनको पालाको रुसको संविधानलाई उत्तम भन्नु हुन्थ्यो।’
संविधान सभा सदस्य तथा पूर्वमन्त्री निलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्ष भित्रमा बन्नुपर्ने कानुनहरु निर्माण नहुनु दुखद भएको बताए। उनले भने, ‘बीपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ। तर अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोसको संकेत हो । जनताको मागलाई संवोधन गर्न विमुख भएर दलहरू सत्ता केन्द्रित हुँदा समस्या आएको छ।’
पहिलो संविधान सभाका मस्यौदा समितिको संयोजक समेत रहेका आचार्यले नेपाली कांग्रेस, एमाले, माओवादी र तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ ले नेपालमा गणतन्त्र आउन सम्भव भएको बताए। उनले भने, ‘संविधान मास्ने कुरा गर्नुहुन्न। संविधानको विकास वा संशोधन गर्नुपर्छ। संविधान असफल भयो भने अराजकता आउन सक्छ।’
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संचालन गरेको सो अन्तरसंवादमा सहभागीहरुले विभिन्न प्रश्नहरुको जवाफ सिटौला, ढुंगाना र आचार्यले दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।