काठमाडौं- आधा शताब्दीअघि बीपी कोइराला र राजा महेन्द्रबीच भएको संवादलाई कांग्रेस महामन्त्री गगन थापाले सोमबार पार्टी केन्द्रीय कार्यालयमा स्मरण गरे।
प्रथम बीपी साहित्य महोत्सवको दोस्रो दिन बीपी र राजा महेन्द्रबीचको संवादलाई उद्धृत गर्दै थापाले भने, ‘बीपी कोइलालाले एउटा सन्दर्भ भन्नु भएको थियो–राजा महेन्द्र होइबक्सन्थ्यो र उहाँले मलाई सोधिबक्सियो, बीपी बाबु देश कसरी बदल्ने हो? मैले राजालाई भनेको थिएँ, म विराटनगरको एउटा मध्यम परिवारमा जन्मेको मान्छे हुँ। खान लगाउन पुगेको छ। १५ वर्ष मैले पाएको भए, प्रत्येक नेपाली परिवारलाई मेरो जस्तै खान लगाउन पाउने मध्यम वर्गको परिवार बनाउने थिएँ।’
यही सन्दर्भलाई जोड्दै थापाले 'बीपीले नपाएको १५ वर्ष' शीर्षकमा राजनीतिक विश्लेषक हरि शर्मालाई प्रश्न गरे। बीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो?
बीपी कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बीपी साहित्यिक महोत्सवका क्रममा राजनीतिक विश्लेषक शर्माले सहज रुपमा जवाफ दिँदै भने, ‘यो कल्पना गर्ने प्रश्न हो। बीपीले पाउनुभएन। पाउनुभएको भए के हुन्थ्यो? बीपीमा केही गरौं भन्ने हुटहुटी थियो। कार्यक्रम पनि थियो। त्यस कारण उहाँले १५ वर्ष होइन। १८ महिनामा काम गरेर देखाइदिनु भयो।’
उनले बीपी समयका उपज हुन् या उनले समयको निर्माण गरे? भन्ने विषयमा ठूलो दार्शनिक विवाद रहेको बताए। बीपी आफैं समयलाई पढ्न सक्ने महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै बीपीमा आफूले दार्शनिक बढी राजनीतिज्ञ कम भेटेको टिप्पणी गरे।
उनले बीपीलाई परिस्थितिलाई पढ्न सक्ने, त्यसलाई आफूले कसरी बुझ्ने र अरुलाई कसरी बुझाउने? भन्नेमा उनको बढी चिन्ता भएको व्यक्तिको रुपमा वर्णन गरे।
बीपी प्रथम विश्वयुद्धमा जन्मेको र दोस्रो विश्वयुद्ध देखेको व्यक्ति भएकाले उनी विश्वमा साइन्स, टेक्नोलोजी र एन्टिकोलोनी मुमेन्टबाट अछुतो नभएको बताए।
पार्टी र क्रान्ति उनका लागि साध्य भएको उल्लेख गर्दै शर्माले बीपीलाई राजनीतिक मात्रै होइन, दार्शनिक रुपमा चर्चित गरे।
‘बीपी परिवर्तन र परिवेशलाई जोड्ने युगान्तकारी व्यक्ति हो। परिवर्तनका लागि बीपी चञ्चल हुनुहुन्थ्यो। उहाँलाई परिवर्तन चाँडो चाहिएको थियो। किन भने उहाँ पछाडि पर्न चाहनुहुन्थेन। विश्व समाजवादी आन्दोलनमा योगदान दिनसक्ने क्षमता थियो। विचारविहीन परिवर्तनले कुनै अर्थ राख्दैन भन्ने उहाँको सोचाइ थियो। हामी विचारलाई विचारको रुपमा हेर्छौं, व्यक्तिको रुपमा हेर्दैनौं।’
पञ्चवर्षीय योजनाको परिकल्पना
त्यसैगरी प्राध्यापक एवम् अर्थशास्त्री डा अच्युत वाग्लेले बीपीले दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पना गरेको बताए। उनले भने, ‘बीपीले दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पना गर्नुभएको थियो। पहिलो पञ्चवर्षीय योजनाका लागि खर्च गर्न छुट्याएको बजेट २२ करोड थियो। दोस्रो पञ्चवर्षीय योजनाका लागि खर्च गर्न १ अर्ब ९६ करोडको प्रोजेक्सन दिनुभयो।’ उनले दोस्रो पञ्चवर्षीय योजनाबाट विनियोजित बजेटको १६ प्रतिशत कृषि उत्पादन वृद्धिको प्रस्ताव अघि बढाएको बताए।
उनले भने, ‘अघिल्लो पञ्चवर्षीय योजनाको तुलनामा झण्डै ९ गुणा बढीको बजेटको प्रोजेक्सन र विकास लागि भनेर १ अर्ब ५२ करोड पूँजीगत खर्च गर्छु भन्नुभयो। ती पनि उहाँका प्राथमिकता थिए।’
उनले पहिलो २२ करोडको खर्चमध्ये ८ करोड एकै वर्षमा खर्च भएको तथ्य उल्लेख गर्दै उनको पहिलो प्राथमिकता भूमिसुधार र सामन्तवादको अन्त्य गर्नु रहेको बताए।
बीपीले भूमिसुधार ऐन ल्याएर समाजवादी अर्थतन्त्र, सम्पत्तिकाे अधिकार संगै निजी सम्पत्तिको विषयमा जोड दिएको बताए।
संविधानविद् डा बिपिन अधिकारीले बीपीलाई पुनर्जागरणको प्रतीकको रुपमा चित्रण गरे। उनले भने,‘ बीपीलाई हामी पुनर्जागरणको प्रतीकको रुपमा लिन्छौं। विचारका हिसाबले पनि उनको हाउभाउ, उनको जीवन पद्धति, उनले बाँचेको जीवन र समाजका लागि गरेको योगदान पनि महत्त्वपूर्ण छ।’
अधिकारीले बीपीले १५ वर्ष पाएको भए पद्म शमशेरको संविधान लागू गर्ने, २००७ सालको अन्तरिम विधान ऐन आउनेबित्तिकै प्रधान न्यायालय ऐन जारी गरेको, महिला सशक्तिकरणका लागि मस्यौदासमेत तयार भएर राजपत्रमा छापिएको तर लागू हुन नसकेको बताए।
बीपीलाई भूमिसुधारको विषय लिएर राजनीति गर्ने एक नेताकाे रुपमा चित्रण गर्दै अधिकारीले उनीसंग भूमिसुधारको लागि एउटा प्रष्ट दृष्टिकोण रहेको उनले बताए। उनले भूमिसुधारका लागि तत्कालीन समयमा अमेरिकाबाट ल्यान्डजेस्की भन्ने कृषि विशषज्ञलाईसमेत नेपाल बोलाएको बताए।
प्राध्यापक मञ्चला झाले बीपी कोइराला सिद्धान्त र व्यवहारमा एक भएको व्यक्ति टिप्पणी गरिन्। उनले भनिन्, ‘बीपीले प्रजातन्त्रवादी समाजवादको कुरा अंगिकार गरे। त्यसलाई व्यवहारमा चरितार्थ गर्नका लागि भगमग्धुर कोशिस गरेको देखेँ। १८ महिनाको अवधिमा बीपी कोइरालाले जति काम गर्नुभयो, नेपालको इतिहासमा त्यति काम गरेको व्यक्ति मैले पाएको छैन।’
बीपीले निरंकुश राजतन्त्र र जहाँनिया राणा शासनको समयमै एक वर्षमा १६ सय विद्यालय स्थापना गरेको उल्लेख गर्दै अहिले २० वर्षमा एउटा राष्ट्रिय गौरवको आयोजनालाई सम्पन्न गर्न नसकिएको दृष्टान्त व्यक्त गरिन्।
‘हामीसँग राष्ट्रिय गौरवका आयोजनामा अर्बौंको पूँजी र लगानी भएको छ। हामी विदेशी ऋणमा डुबिसकेका छौं। तर बीपीको त्यो काम गर्ने हुटहुटीलाई अंगिकार गर्न सकिरहेका छैनौं,’ उनले भनिन्, ‘बीपीले त्यो १५ वर्ष पाएको भए लाखौंको संख्यामा युवाहरू विदेश जानुपर्ने थिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।