एकातिर ठूलाठूला भ्रष्टाचार काण्डमा मुछिएका भिआइपी प्रहरी हिरासतमा पुगे।
अर्कातिर बेवारिसे लाश व्यवस्थापन गर्दै आएकी अभियन्ता सपना रोक्का मगरले जल्दै गरेको लाशको तस्बिर फेसबुकमा पोस्ट्याउँदै लेखिन्, 'हिजो आज त मध्यरातमा अमेरिका, अष्ट्रेलिया लगायत देशबाट फोन आउँछ। कुनै कुनैले त फलानो ठाउँमा मेरा आमा बुबाको मृत्यु भएको छ। मलाई नेपाल आउन जान लाखौं लाग्छ। बरु म पैसा पठाइदिन्छु मेरो बुबा आमाको लाशलाई दाहसंस्कार गरिदेऊ भन्छन्। अहिलेसम्म मैले ५० वटाभन्दा बढी यस्ता बुवा–आमालाई आफ्नै हातले दागबत्ती दिएकी छु। त्यस्तालाई पैसा पठाउन पर्दैन। तपाईं छोरा हुँदाहुँदै पनि म छोरी बनेर अन्तिम संस्कार पूरा गर्न पाउँदा खुसी छु भन्ने जवाफ दिन्छु। कतिपय मानिस आफ्ना आमा बुबाको अन्तिम बेलामा अनुहार देख्न पाइएन भने आफ्नो भाग्यलाई दोष दिन्छन्।’
यो आलेख यिनै दुई कुराको वरिपरी केन्द्रित छ ।
गीतामा भनिएको छ, 'चाकीर्तिर्मरणादतिरीच्यते' अर्थात् सम्मानित व्यक्तिका लागि बदनाम हुनु भनेको मरणभन्दा गरुङ्गो काम हो।’
पद ठूलो हो तर पद पाउँदैमा प्रतिष्ठित भइन्छ भन्ने पनि हुँदैन भन्ने कुरा भिआइपी जेल चलानबाट थप पुष्टि भएको छ। पद धारण गरेका हरेक व्यक्ति योग्य हुन्छन् भन्ने पनि सत्य होइन। फेरि पद धारण गरेका हरेक व्यक्ति प्रतिष्ठित हुन्छन् भन्ने पनि होइन। पदमा पुगेका हरेक व्यक्ति प्रतिष्ठित भएका पनि छैनन्।
पदको मर्यादा राख्न स्वयम् व्यक्ति पदीय मर्यादामा रहन सक्नुपर्छ। पदमा रहेका व्यक्तिले पदको गरिमा राख्न सक्नुपर्छ। यो वा त्यो पद नै प्रतिष्ठित पद हो भन्ने कुरा झनै बकवास हो। खासमा पद सानो र ठूलो हुँदैन। जुन स्थान अनुसारको पद रहने हो, चाहे उपभोक्ता समिति गठन होस् वा राजनैतिक दलका संघ सङ्गठन। अझ उच्चतम् मानिँदै आएका राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री किन नभनौँ। त्यसमा व्यक्ति पदमा पुग्नु मात्र ठूलो कुरा पनि होइन। त्यहाँ टिकिरहन सक्नु ठूलो कुरा हो।
पदमा अनेक तिकडम गरेर पनि पुग्न सकिन्छ। तर सधैं मर्यादा त्यसले मात्रै राखेको हुन्छ जसले नैतिकता, इमान्दारिता, कर्तव्यनिष्ठतालाई आत्मसात् गरेर पुगेको हुन्छ। पद धारण गरेको व्यक्ति इमान, इज्जत, नैतिकवान, कर्तव्यनिष्ठ, मानवत्व भएको हुनुपर्छ।
कति ठूलो पदमा पुगियो भन्ने कुराले होइन, त्यो पद अनुरूपको उच्च मूल्य र मान्यता स्थापित गर्न सकियो कि सकिएन भन्ने कुराले अर्थ ठूलो राख्छ। कति डिग्री हासिल गरियो भन्ने कुरा होइन, कति ठूलो संस्कार र अनुशासन ग्रहण गर्न सकियो भन्ने कुराले अर्थ राख्दछ। त्यसैले भोलि समाजमा जयजय गान त उसैको हुन्छ जसले त्याग गर्न जानेको हुन्छ।
भनिन्छ, राजनीति गर्ने व्यक्तिको जीवन व्यक्तिगत हुँदैन। त्यसैले उसका हरेक गतिविधिहरु सबैले थाहा पाउने गरी निगरानी हुनुपर्छ भन्ने अवधारणा पनि छ।
राजनीति दुईचार दिन, दुई चार महिना वा दुईचार वर्षका लागि मात्रै हुँदैन। त्यसैले पनि दीर्घकालसम्म इज्जत जोगाइ राख्न इज्जतिलो काम गर्न सक्नुपर्छ। भनिन्छ, पद प्रतिष्ठा र अध्यात्म सँगसँगै भए मात्रै दीर्घकालीन हुन्छ। शास्त्रले पनि राजस्व, देवस्व र पितृस्व सबैभन्दा ठूला ऋण हुन् जसमा अलिकति पनि लोभ गर्नु नरकमा जानु हो भनेर सिकाएका छन्।
हामीले उच्च शिक्षा आर्जन गर्नु भनेकै राम्रो आर्थिक लाभ प्राप्त गर्नु हो भन्ने कुरा मात्र सिक्यौँ र सिकायौँ। जसको प्रभावले आर्थिक क्षमता, हैसियत हेरेर सम्बन्ध जोड्नतिर पुग्यौँ। त्यही सम्बन्ध र स्वार्थकै कारण बावुआमा, दाजुभाइ, दौँतरी, छरछिमेकबाट टाढा हुँदै गयौँ। र, त कमजोर देखिने आफ्नाहरूलाई बेवास्ता गर्यौँ, कमजोरलाई झन् कमजोर बनाउनुमा महान ठानिरह्यौँ।
शिक्षाका कागजी प्रमाणपत्रले मनग्ये अर्थोपार्जन पनि गर्यौँन। तर चेतनायुक्त वा संस्कारयुक्त शिक्षा आर्जन नभएको हुँदा माथि उठ्न सकेनौं। प्राणहीन सुगारटाइको ज्ञानले भयावह अवस्था निम्त्यायो।
केही वर्षपछि नेपालमा यस्तो स्थितिको सामना गर्नुपर्ला, नेपालको बलियो जनशक्ति अधिकांश विदेशमा हुन्छन्। नेपालमा घर रुँघेर बसिरहेका वृद्धा बा आमा मात्र बाँकी रहनेछन्।
अहिले नेपालका राम्रा संस्कृति हराउँदै गएका छन्। पश्चिमा संस्कृतिले हाम्रा संस्कृतिमाथि प्रहार गरेका छन्। अब यसबारे पनि सोच्ने बेला आयो कि!
मन भयो भने मानिस हुन्छ। मानव हुन मानवता चाहिन्छ। सही र गलत वा ठिक बेठीक छुट्याउन सक्ने भएर नै सारा प्राणीमा मान्छेलाई सर्वश्रेष्ठ मानियो। तर हामीमा त्यो सर्वश्रेष्ठता कति छ? यो सोचनीय विषय छ।
शास्त्रहरूकाअनुसार पूर्ण मानव हुन शिक्षा र संस्कारको आवश्यकता पर्दछ। शिक्षाले मात्रै व्यक्ति पूर्ण मान्छे बन्न सक्दैन। शिक्षा आर्जन गर्न सजिलो छ तर संस्कार आर्जन गर्न गाह्रो। शिक्षा मस्तिष्कको उपज हो भने संस्कार हृदयको उपज। बाहिर देखिने रूपभन्दा भित्री स्वरूपको महत्व बढी हुन्छ। जुन घरपरिवार वा समाजमा संस्कार हुँदैन त्यो घर वा समाज छिन्नभिन्न हुन्छ।
आजको आधुनिक शिक्षा पद्धतिले हाम्रा स्कुलमा शिक्षा प्रदान गर्छन् संस्कार होइन। शिक्षा कमाइको परिभाषा धन पैसा कमाउनु मात्र होइन अनुभव, संस्कार, ईज्जत, मान, प्रतिष्ठा प्रेम र सम्बन्ध पनि कमाउनु हो। अर्थात शिर ठाडो पारेर हिँड्न सक्नु र आवश्यक पर्दा शीर झुकाउन जान्नु पनि त हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।