काठमाडौं– त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगित गरेको छ । चिकित्सा शिक्षा सुधारको मर्म विपरित मापदण्ड पनि नपुगेको काठमाडौं नेशनललाई गुपचुपमा सम्बन्धन दिएको समाचार स्वास्थ्य खबर डटकमले सार्वजनिक गरेको थियो । त्रिविको उक्त कार्यको चौतर्फी विरोध भइरहेको थियो ।
कलेजको अस्पतालले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएको र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० पूरा नगरेको पनि भेटिएको थियो । यिनै समाचारलाई आधार बनाएर त्रिविले तत्कालका लागि सम्बन्धन स्थगित गरेको हो ।
त्रिवि स्रोतले स्वास्थ्यखबरलाई बताए अनुसार काठमाडौँ नेशनल मेडिकल कलेजको अस्पताल सञ्चालनको सम्बन्धमा सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने गरी एक समिति पनि गठन गरिएको छ । ‘कलेजको अस्पताल सञ्चालनको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन भनेर समिति गठन गरिएको छ । समितिले प्रतिवेदन नबुझाएसम्मका लागि सम्बन्धन स्थगित गर्ने निर्णय गरिएको हो,’ स्रोतले भन्यो ।
त्रिवि कार्यकारी परिषद्ले २०७४ साउन १२ गते अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग भएको सम्झौता र माथेमा कार्यदलको प्रतिवेदनको सुझाव विपरित सम्बन्धन दिइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।