फाइल तस्बिर काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई ३ वर्षभित्र मान्यता दिनेगरी काम गरिरहेको बताएका छन्।
सोमबार सर्वाङ्गीन विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा उनले सन् २०२६ सम्म डिजिटल करेन्सीलाई मान्यता दिनेगरी योजना बनाएर काम भइरहेको बताए। नेपालमा सूचना प्रविधि विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने उनको भनाइ थियो। उनले नेपालमा पछिल्लो समय इकमर्स तथा डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए।
सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको भनाइ उनको थियो। नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्सलगायत अनलाइन सेवा विस्तार भइरहेको पनि उनले बताए।
'मुलुकको जीडीपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्याएको छ। नेपालका लागि रोजगारी सिर्जनाको विषय मात्र होइन, सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा विकास हुने सम्भावना देखिएको छ,' उनले भने।
सरकारले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर आन्तरिक बजार लक्षित गतिविधि बढेको बताउँदै उनले राष्ट्र बैंकले पनि सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।