नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बााह्य क्षेत्रमा सुधार र तरलता सहजताले आगामी वर्ष अर्थतन्त्र सहज हुने बताएका छन्। त्यही कारण लचिलो मौद्रिक नीति आएको उनले बताए।
आइतबार काठमाडौंमा आयोजित मौद्रिक नीति पछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले विदेशी मुद्रा सञ्चितिमा सुधार तथा वर्षको अन्त्यमा बैंकहरुमा तरलता सहजता देखिएको बताए। जसकारण आगामी वर्ष सहज हुने देखेर राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अपनाएका उनको भनाइ थियो।
राष्ट्र बैंकले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षा सहित चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको भनाइ उनले राखे।
उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई साढे ६ प्रतिशत बनाउनु नै लचकता अपनाउनु भएको संकेत गरे। विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको टिप्पणी उनले गरे।
युरोपियन युनियनको राष्ट्रिय बैंक र बैंक अफ इङल्याण्डले समेत कडा मौद्रिक नीति अपनाइ रहेको स्मरण गर्दै राष्ट्र बैंकले लचिलो आर्थिक नीति लिनुको आधार गत वर्षको आर्थिक तथ्यांकले दिएको स्पेस र बााह्य क्षेत्रमा सहज भएको स्पष्ट पारे।
अहिले घरजग्गा क्षेत्रमा परेको दबाब र मनोबल गिरेको अवस्थामा नोबललाई उकास्न मौद्रिक नीतिले नीतिगत दरलाई घटाएको उनको भनाइ थियो। समग्रमा ११.५ प्रतिशतको निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि हुने लक्ष्य राखेकोमा लक्ष्य बढी भएको र कम भएको दुवै प्रतिक्रिया आएको बताए।
सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने, निजी क्षेत्रको मनोबल बढाउने लगायत विषयमा प्राविधिक रुपमा हिसाब गरेर यस आर्थिक वर्षको मौद्रिक नीति ल्याइएको दाबी उनले गरे। बैंकहरुमा कर्जा र निक्षेपको औसत ब्याजदर तथा बैंकहरुको बेसरेट निरन्तर रुपमा गत माघदेखि घट्दै आएकाले राष्ट्र बैंक धेरै आशावादी रहेको बताए।
गभर्नर अधिकारीले चालु आवमा रेमिट्यान्स नघट्ने राष्ट्र बैंकको अनुमान रहेको बताए।
बैंकहरुमा अहिले करिब अढाई खर्बको तरलता रहेको बताउँदै उनले गत वर्षकै जस्तो रेमिट्यान्स आए आगामी वर्षमा ५६२ अर्बको कर्जा निजी क्षेत्रमा विस्तार गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।