काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणबारे कांग्रेस मौन देखिएको छ। महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकको निर्णय प्रस्ताव गर्दा उक्त विषय समेटिएन।
नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको दाबी भने गरेको छ। शर्माले पेस गरेको निर्णयको दोस्रो नम्बर बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ तर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा थुनामा रहेका खाणबारे बोलिएको छैन।
भ्रष्टाचार जघन्य अपराध भएको भन्दै जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने दाबी भने निर्णयमा गरिएको छ। आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्नेसमेत कांग्रेसले उल्लेख गरेको छ।
खाणको बारेमा मौन बसेपछि बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए। यसबारे थापाको लिखित फरक मत रहेको कुरा पनि सुनाए।
महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।