काठमाडौं- त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिनुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संरक्षण र ‘सेटिङ’ रहेको निष्कर्ष निकालेको नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग गर्दै बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। एमालेको अवरोधपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ।
सुरुमै एमालेको तर्फबाट बोलेका प्रमुख सचेतक पदम गिरीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरादेखि गृहमन्त्री श्रेष्ठसम्मलाई जोडेर आलोचना गरेका थिए। उनले अहिले तस्करहरुलाई नेपाल ‘लुटको स्वर्ग’ भएको ठम्याइ प्रस्तुत गरे। उनले पछिल्लो एक वर्षयता विमानस्थलभित्रको सुरक्षा अवस्था कमजोर र निष्प्रभावी बनाइएको र क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याइएको दाबी गरे।
गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गरेका उनले मन्त्रीहरु नै बसेर सेटिङ गर्ने काम भएको बताए। देशलाई लुट्ने काम भइरहेको भन्दै उनले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे। ‘छानबिन समिति बन्ने कुराको सुनिश्चित भएन भने संसद अगाडि बढ्न दिन सकिँदैन’, गिरीले प्रष्ट पारे।
प्रतिनिधि सभा बैठकअगाडि बसेको एमालेको संसदीय दलको बैठकले नै छानबिन समिति बनाउन माग गर्ने र माग पूरा नहुने स्थितिमा बैठक अवरोध गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेशमा नभएको अवस्थामा छानबिन समिति बन्ने कुरा असम्भवप्रायः थियो। त्यसैले एमालेको अवरोध निश्चित जस्तै थियो।
गिरीपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मालाई बोल्न समय दिए। लगत्तै एमालेका सांसदहरु उठेर नाराबाजी सुरु गरेका थिए। उनीहरुले ‘सुन तस्करलाई कारबाही गर’, ‘उच्चस्तरीय छानबिन समिति गठन गर’ भन्न जस्ता नारा लगाएका थिए।
एमालेले बैठक अगाडि बढ्न नदिने संकेत गरेको थियो। किनकि, शर्मा बोल्न सुरु गरिसक्दा पनि एमालेका सांसदहरु उभिएकै स्थितिमा थिए।
शर्माले एमालेलाई लक्षित गर्दै ‘तपाईंहरु बोल्दा हामी चुप लागेपछि, हामीलाई पनि बोल्नचाहिँ दिनुपर्यो’ भन्दै उनकै भाषा ‘रिक्वेस्ट’ गरे। तर एमालेका सांसदहरु बसेका थिएनन्। उनले आफ्नो सम्बोधन अगाडि बढाउँदै लगे। केही बेरपछि एमाले सांसदहरु बसे।
आफ्नो सम्बोधनमा शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरे। ‘उहाँहरुले तीन दिन, पाँच दिन, सात दिन कति समय लिने हो, लिएर भन्नसक्नुपर्छ, हामी मुख्य नाइके पक्रिन्छौं। होइन भने उहाँहरुले यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनका निम्ति अहिलेलाई कमसेकम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ’, उनले भने।
त्यति मात्रै होइन, शर्माले मुख्य अभियुक्त प्रक्राउ नगरेर भरियालाई पक्रिने र घटनालाई गुपचुप पार्ने हो भने आफूले प्रधानमन्त्री फर्किएपछि अनसन बस्ने घोषणा पनि गरे। ‘प्रधानमन्त्री फर्किएपछि पनि सुनको भरिया नभइ मुख्य व्यक्ति पक्राउ नपर्ने हो भने सदनभित्रबाट आमरण अनसन घोषणा गर्न चाहन्छु’, उनले भने।
शर्माको सम्बोधनसँगै एमालेले बलियो दौँतरी भेट्टायो। किनकि, सदनबाटै सत्तापक्षका सांसदले मन्त्रीको राजीनामा माग्ने विषय दुर्लभ हो। शर्माले स्वयंले प्रतिपक्षी दलको नेता जसरी बोलेका थिए।
यतिञ्जेल बैठक सहज जस्तो भइसकेको थियो। सभामुखले पनि अनौठोसँग बोल्न इच्छुकलाई पालो दिएको देखिन्थ्यो। समय तोकेका थिएनन्। बरु संक्षिप्तमा बोल्न भने सुझाइरहेका थिए।
गृहमन्त्री श्रेष्ठको पछिल्लो सक्रियतालाई राजनीतिक पुँजी बनाउने प्रयत्न गरिरहेको माओवादी केन्द्रलाई भने राजीनामा माग्ने विषयलाई उत्तेजित बनाउनु स्वाभाविक थियो। उसका सांसद देवेन्द्र पौडेलको सम्बोधनले त्यस्तै संकेत गर्थ्यो।
पौडेलले आफ्नो सम्बोधनको सुरुमै सरकारलाई बधाई दिए। ‘दिउँसै रात पार्न खोजिएको थियो। रातलाई दिउँसो बनाइँदैछ। भ्रष्टाचारका कतिपय विषयमा छानबिन गर्न सरकार अगाडि बढेको छ। माननीयज्यूहरुलाई टाउको नदुखाउन म विशेष अनुरोध गर्न चाहन्छु। कसैको अनुहार हेर्न जरुरी छैन। सरकार अगाडि बढोस्’, उनले भने।
पौडेलपछि रास्वपाका सभापति रवि लामिछानेले वर्षौंदेखि सुन आउने विषयको सेटिङ जनताले थाहा पाइसकेको बताए। उनले कर्मचारीहरुलाई सरुवा गर्ने कुराप्रति असहमति राखे। तर गृहमन्त्रीप्रति भने आक्रामक भएनन्। बरु आफूहरुले आजै दर्ता गराएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई चाँडै सदनमा प्रस्तुत गर्न र त्यतिबेला जवाफ दिन गृहमन्त्रीलाई आग्रह गरे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विशेष आयोग, छानबिन समिति बन्नुपर्ने बताए। यसअघिका काण्डहरुको अनुसन्धान जरोसम्म नपुगेको भन्दै अहिलेको सुन प्रकरणलाई भने जरोसम्मै पुर्याउनुपर्ने बताए।
त्यसपछि पनि केही सांसदहरुले बोले। विभिन्न विषयहरु उठाए। एमालेकै सांसद ठाकुर गैरेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरे। दुवै मन्त्रीले नैतिक रुपमा आफूहरु पदमा बस्न मिल्दैन भनेर उनीहरु स्वयंले भन्ने आशा आफ्नो रहेको उनको भनाइ थियो ‘म प्रश्न गर्न चाहन्छु, के नैतिक रुपले उहाँहरु यो पदमा बसिरहन मिल्छ? नैतिक रुपले गृहमन्त्री अर्थमन्त्री भइरहन मिल्छ?’, उनले भने।
यो राउन्डमा सांसदहरुले बोल्ने क्रम सकिएको थियो। सभामुख घिमिरेले शून्य समयको कार्यक्रम प्रारम्भ उनले घोषणा गरे। तर एमालेका सांसदहरु पुनः उठे। सभामुखले पुनः एमाले प्रमुख सचेतक गिरीलाई समय दिए।
‘हामीले यो सुन तस्करीको प्रकरणलाई लिएर माननीय सदस्यहरुले आफ्नो विचार राख्न पाउनुपर्यो भनेर भनिरहँदा त्यसलाई सम्मान गर्यौं। र त्यो सुन तस्करीहरु को को हुन्? उनीहरुमाथि खोजबिन हुनुपर्यो। कारबाही हुनुपर्यो भन्ने सन्दर्भमा सदस्यहरुले राख्ने कुरा स्वाभाविक थियो। त्यसैले यो राउन्डका निम्ति हामीले सदासयता देखायौँ। र यो राउन्डलाई अगाडि बढाउने कुरामा हामी सहमत भएका हौं’, उनले बैठक अगाडि बढ्न नदिने संकेत गर्दै भने।
त्यसपछि उनले पनि गृहमन्त्री र अर्थमन्त्रीप्रति आक्रोश व्यक्त गरे। ‘यो दुई तीन महिनाको अवधिमा २०/२२ क्विन्टलभन्दा बढी सुन यहाँका अर्थमन्त्री र गृहमन्त्रीको संरक्षण र उहाँहरुको सेटिङमा सुन भित्रिएको छ। यो सामान्य विषय होइन’, उनले भने, ‘अन्तिम पटक भएको एकडेढ क्विन्टल सुन त पछिल्लो पटकको सेटिङ बिग्रिँदाखेर पक्राउ परेको हो। यसभन्दा अगाडि ३३ पटकसम्म यो आएको छ। त्यसकारणले यो सामान्य विषय होइन।’
त्यसपछि उनले पुनः उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने बताए। सभामुखले उच्चस्तरीय छानबिनका निम्ति रुलिङ नगर्ने हो भने बैठक अगाडि बढ्न नदिने प्रष्ट पारे।
गिरीको सम्बोधन सकिएसँगै एमालेका सांसदहरु बेल घेराउ गर्न पुगिसकेका थिए।
पूर्वनिर्धारित विषयमा सामान्यतया सुरुमै विषय उठान गर्ने र अवरोध गर्ने प्रचलन छ। तर एमालेले बुधबारको बैठक भने चल्न दियो। अन्य सांसदहरुको धारणा पनि सुन्यो। तर अन्ततः अवरोध पनि गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।