काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत नैतिक रुपले पदमा बस्न नमिल्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा गैरेले आफूलाई गृहमन्त्री र अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने आशा रहेको बताए।
‘मलाई त आशा थियो, गृहमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन जहाँबाट पक्रिनुपर्थ्यो। पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म म गृहमन्त्रीको पदबाट बाहिर बस्छु भनेर गृहमन्त्रीले भन्नुहुनेछ। मलाई त आशा थियो, अर्थमन्त्रीले मेरो मातहतको कार्यालयले यो सुन पक्रिन सकेन। त्यसकारणले यसको छानबिन नहुञ्जेलसम्म अर्थमन्त्रीबाट बाहिर बस्छु’, उनले भने।
दुवै मन्त्रीले नैतिक रुपमा आफूहरु पदमा बस्न मिल्दैन भनेर उनीहरु स्वयंले भन्ने आशा आफ्नो रहेको उनले दोहोर्याए। ‘म प्रश्न गर्न चाहन्छु, के नैतिक रुपले उहाँहरु यो पदमा बसिरहन मिल्छ? नैतिक रुपले गृहमन्त्री अर्थमन्त्री भइरहन मिल्छ?’, उनले भने।
बाहिर आदर्शको कुरा गरेको भन्दै उनले ती मन्त्रीलाई कटाक्ष गरे, ‘बाहिर आदर्शको कुरा गरिँदैछ। आदर्शको कुरा गर्नेहरुले आफैंले आदर्शको परिचय दिनुपर्छ कि पर्दैन?’
हालै बरामद भएको झन्डै एक क्विन्टल सुन प्रकरणको छानबिन हुनुपर्ने एमालेको माग छ। आजैको प्रतिनिधि सभा बैठकमा दलको तर्फबाट बोलेका पदम गिरीले संसदीय छानबिन हुनुपर्ने माग उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।