काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले अहिलेको अर्थमन्त्री र गृहमन्त्री सुन तस्करी प्रकरणको अनुसन्धानमा कि हामीले भरिया मात्रै होइन, मुख्य दोषीलाई पक्रियौँ भन्नुपर्ने अथवा समय लिएर पक्राउ गर्ने भन्न सक्नुपर्ने बताए।
‘उहाँहरुले समय लिने हो भने तीन दिन, पाँच दिन, सात दिन कति समय लिने हो। समय लिएर भन्नसक्नुपर्छ हामी सात दिनभित्रमा यसको मुख्य नाइके पक्रिन्छौँ भनेर भन्न सक्नुपर्यो। होइन भने उहाँहरुले यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनका निम्ति अहिलेलाई कमसे कम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ,’ उनले भने।
शर्माले मुख्य अभियुक्त प्रक्राउ नगरेर गाउँको सोझो भरियालाई पक्रिने र गुपचुप पार्ने हो भने आफूले प्रधानमन्त्री फर्किएपछि अनसन बस्ने घोषणा पनि गरे।
‘प्रधानमन्त्री फर्किएपछि पनि सुनको भरिया नभइ मुख्य व्यक्ति पक्राउ नपर्ने हो भने सदनभित्रबाट आमरण अनसन घोषणा गर्न चाहन्छु,’ उनले भने।
उनी अघि बोलेका एमालेका पदम गिरीले मन्त्रीहरुले मिलेर सेटिङ गरेको बताएका थिए। गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न लायक नभएको बताएका थिए। गृहमन्त्रीले स्टन्डबाजी गर्दै हिँडेको र कोट र टार भन्ने गरेको भन्दै गिरीले असन्तुष्टि जनाए। ‘कुन नैतिकताको धरातलमा उहाँ पदमा बस्न सुहाउँछ?,’ उनले सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।