काठमाडौं– सहरी विकासमन्त्री सीता गुरुङले अन्तर मन्त्रालयबीच राम्रो समन्वय हुन नसक्दा विकास निर्माणका काममा कठिनाइ हुने गरेको बताएकी छन्।
बुधबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। मन्त्री गुरुङले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनासो गरिन्।
उनले अन्तर मन्त्रालयबीच समन्वय गर्न र विकास निर्माणमा देखिएका समस्या समाधान गर्न नीतिगत छलफल नै जरुरी देखिएको उल्लेख गरिन्। सहरी विकास मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कन्जुस्याइँ नगरी काम अघि बढिरहेको उनको दाबी छ।
उनले प्रतिनिधि सभाको पुरानो भवनलाई संसदीय संग्रहालयको रुपमा विकास गर्न पुरानै कला, संस्कृति समेटिने गरी पुनः निर्माण हुने बताइन्। त्यससम्बन्धी अहिले परामर्शको काम भइरहेको र एक महिना भित्रमा रिपोर्ट आइसकेपछि टेन्डर आह्वान र स्रोत सुनिश्चितता गरी मंसिरबाट काम अघि बढाइने उनको भनाइ छ। उनले विकास निर्माणमा केही गल्ती र कमजोरी रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताइन्।
समितिको बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधि सभा भवन)लाई संसदीय संग्रहालयको रुपमा विकास गर्न उक्त भवनलाई प्रवलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगतिका बारेमा छलफल भएको हो। समिति बैठकमा सांसदहरुले सरकारका योजनामा बजेटअनुसारको काम हुन नसकेको गुनासोसमेत गरे। सांसदहरुले सरकारले संरचना बनाउने काममा ढिलाइ गर्नु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।