काठमाडौं– साउन २ देखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक समापनतिर आइपुगेको छ। बैठकमा उठेका धारणाका सन्दर्भमा सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिइसकेका छन्। सभापति शेरबहादुर देउवाले (आज) बुधबार बेलुका ४ बजे बस्ने बैठकमा जवाफ दिने कार्यक्रम तय भएको छ।
अन्य धेरै विषयका अतिरिक्त कांग्रेस बैठकमा उठेको विषय थियो, गठबन्धन, गठबन्धनको निरन्तरता र आगामी निर्वाचनमा गरिने गठबन्धन। त्यसलाई महामन्त्रीद्वयले आफ्नो जवाफमा सम्बोधन गरेका छन्। उपसभापति खड्काले पनि यो प्रसंगलाई जोडे।
अहिलेको गठबन्धन निरन्तर
गत पुस १० मा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि सबैभन्दा सुर्तामा थियो कांग्रेस। राष्ट्रपति र प्रधानमन्त्री दुवैतिर दाबी गर्दा उसले ती दुवै पद गुमाउने, संघीय र प्रदेश सरकारमा सहभागिता गुमाउने तथा सरकारमा नहुँदाका अन्य लाभ पनि गुमाउने अवस्था सिर्जना भएको थियो। त्यतिबेला गठबन्धन भत्किने स्थिति सिर्जना गर्ने कांग्रेस नेता र नेतृत्वको आलोचना पनि भएको थियो।
तर विस्तारै कांग्रेस र माओवादी केन्द्रसहित पुरानो गठबन्धनको नेतृत्वका बीचमा छलफल चल्दै जाँदा पुनः पुरानै गठबन्धन ब्युँतियो। कांग्रेसले राष्ट्रपति, प्रदेशका मुख्यमन्त्री तथा संघीय तथा प्रदेश सरकारमा मन्त्री पठाउन पायो। त्यसैले अहिलेको गठबन्धन जोगाएर लैजानुपर्नेमा कांग्रेभित्र एक मत देखिन्छ। ‘हामीले यो गठबन्धनलाई पाँच वर्ष लिएर जानु छ। कुनै द्विविधा छैन,’ उपसभापति खड्काको भनाइ छ।
महामन्त्री शर्माले पनि अहिलेको गठबन्धनलाई नै बलियो बनाएर जानुपर्ने मत राखे। उनले अहिलेको गठबन्धनमार्फत् काम गर्नुपर्ने, यसको निरन्तरतामा प्रतिबद्ध हुनुपर्ने र अन्य दलसँग गठबन्धन गर्ने जस्ता विषयमा जान नहुने बताए। अर्का महामन्त्री थापाले पनि अहिलेको गठबन्धनको नेता नै कांग्रेस भएको बताउँदै कांग्रेसले बनाएको गठबन्धनलाई इमानदारितापूर्वक अगाडि लिएर जानुपर्ने बताए।
गठबन्धनमा रहने सर्त
गठबन्धनबारे बोलेका शीर्ष नेतृत्वले गठबन्धनप्रति प्रतिबद्धता जनाए पनि त्यो सर्तरहित भने नभएको पनि प्रष्ट पार्ने कोसिस गरे। सर्तको व्याख्या गर्दै महामन्त्री थापाले लोकतन्त्र तथा कांग्रेसका आधारभूत मूल्यमा सम्झौता गरेर गठबन्धन जोगाउन नहुने बताए। ‘हाम्रो आधारभूत कुरासँग सम्झौता गर्नु हुँदैन। चाहे प्रदेशको सरकार बनाउनलाई होस्, चाहे सरकार टिकाउनलाई होस्,’ उनको भनाइ छ, ‘गठबन्धनभित्र रहेको कुनै अमुक दलको अमुक माग नगरे गठबन्धन तलमाथि हुने स्थितिमा पनि हामीले आफ्नो मान्यतालाई राख्न सक्नुपर्छ।’
उनले कांग्रेसले ६ महिना वा १० महिना सरकार चलाउने कुरा मात्रै नभएको बरु कांग्रेसको त्योभन्दा ठूलो जिम्मेवारी रहेको स्मरण गराए।
थापाभन्दा पछि बोलेका उपसभापति खड्काले नेपाली कांग्रेसले आफ्नो अजेन्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको प्रष्ट पारे। ‘हामी आफ्ना अजेन्डा बोकेर गठबन्धनमा छौँ,’ उनले भने, ‘गठबन्धनको सीमा पनि हामीले बुझेका छौँ। यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको छ।’
खड्काले गठबन्धलाई पाँच वर्ष लिएर जाँदा पनि जनतालाई दिनुपर्ने प्रतिफल र सेवा सन्दर्भमा आफ्ना प्रत्येक मन्त्रीहरु व्यक्तिगत र सामूहिक रुपमा पार्टीको घोषणापत्र र पार्टीको विचार र अजेन्डाप्रति इमानदार हुन जरुरी रहेको स्मरण गराए।
महामन्त्री शर्माले पनि अहिलेको सरकारलाई कायम राख्दै गर्दा डेलिभरीको कुरामा भने गम्भीर हुनुपर्ने बताए।
२०८४ मा के होला?
कांग्रेसको एक समूहले अघिल्लै निर्वाचनका बेलामा गठबन्धन गर्न नहुने मत राखेको थियो। तर संस्थापन पक्षको निर्णयपछि सो समूह पार्टीको निर्णय मान्न बाध्य भएको थियो। निर्वाचनपछि पनि अबदेखि निर्वाचनअघि नै गठबन्धन गर्न नहुने मत राख्दै आएको छ। यस किसिमको धारणा राख्नेमा महामन्त्री थापा नै बढी मुखर सुनिन्छन्। आगामी निर्वाचनमा निर्वाचनअघि नै गठबन्धन गठबन्धन गर्न नहुने मत उनले केन्द्रीय कार्यसमिति बैठकमा पनि राखे।
सोमबार धारणा राख्ने क्रममा उनले निर्वाचनअघिको गठबन्धनले छनौटको अधिकारलाई सीमित गरिदिएको र त्यसले नागरिक रिसाएको बताए। ‘यो नीति महाधिवेशनबाट कांग्रेसले संकल्प गर्नुपर्छ, हामी कहिल्यै पनि चुनाव अगाडि गठबन्धन गर्दैनौँ,’ उनको भनाइ छ।
थापाले अहिले नै २०८४ को कुरा गर्नुभन्दा अगाडि बाँकी ४ वर्षको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए। ‘छोडिदिऊँ २०८४ को कुरा। प्रश्न के हो भने, यो बाँकी रहेको ४ वर्षको जिम्मेवारी कसले लिन्छ?,’ उनले भने, ‘हामीले लिनुपर्छ। हाम्रो सरकारले डेलिभरी गर्नैपर्छ।’
थापाभन्दा अगाडि बोलेका महामन्त्री शर्माले कतिपय नेताहरुले उत्साहपूर्वक २०८४ को कुरा गर्ने गरेको र त्यतिबेलाको निर्वाचनमा एक्लै लड्नुपर्छ र एक्लै लड्नुहुन्न भन्ने धारणा रहेको भन्दै उनले त्यो चिन्ता अहिले गर्न जरुरी नरहेको बताए। ‘२०८४ को चिन्ता २०८३ लागेपछि गरौँ। त्यसमा पनि यसबीचमा महाधिवेशन भएर अर्को कार्यसमिति आइपुग्ला। त्यसकारण अहिले हामी अर्को चुनावमा गठबन्धन गरेर जान्छौँ? त्यो भन्न जरुरी छैन। हामी एक्लै जान्छौँ? त्यो भन्न पनि जरुरी छैन। मात्रै संकल्प के गर्ने हो भने नेपाली कांग्रेस जुनसुकै परिस्थितिमा पनि बलियो भएर, यो ४ वर्ष काम गरेर बलियो भएर मुलुकको नेतृत्व लिने गरी जान्छ।’
समाजवादी मोर्चा कांग्रेसको सहमतिमा
हालै गठन भएको माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपाको समाजवादी मोर्चाबारे कांग्रेसका नेताहरुबाट आशंकायुक्त प्रतिक्रियाहरु व्यक्त भइरहेका बेलामा उपसभापति खड्काले भने मोर्चा कांग्रेसको जानकारीमै गठन भएको बताए।
खड्काले पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित गर्न बालुवाटारमा बसेको शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल तथा उपेन्द्र यादवबीचको बैठकमै समाजवादी मोर्चा गठनको पनि सहमति भएको बताए।
‘गठबन्धनलाई पुनःस्थापित गर्ने सन्दर्भमा माओवादी, समाजवादी र जनता समाजवादीको मोर्चा बन्दा विश्वासको वातावरण बन्छ, आशंका हट्छ, अविश्वास हट्छ, त्यसैले हामी ३ दलको मोर्चा बनाउँछौँ भनेर त्यही दिन नै हाम्रा सभापति, मेरा अगाडि, समाजवादी मोर्चा बनाउने सहमति भएको कुरा म केन्द्रीय समितिमा जानकारी गराउन चाहन्छु,’ उनले भने।
त्यही दिनको सहमति अनुसार पछि विप्लव नेतृत्वको नेकपा पनि थपिएर ४ दलको मोर्चा सार्वजनिक रुपमा घोषणा भएको उनले बताए। ‘प्रचण्डजीले कांग्रेसलाई जानकारी छ, उहाँहरुलाई जानकारी गराएर, उहाँहरुकै सहमतिमा यो मोर्चा बनाएका हौँ भनेर उहाँले एउटा इन्टरभ्युमा भन्नुभएको थियो। यो यथार्थ कुरा हो,’ उनले भने।
भविष्यका कदममा मोर्चा कसरी अगाडि जान्छ र त्यतिबेला कांग्रेस कसरी जाने भन्ने विषय भने राजनीतिक घटनाक्रमसँग जोडिने खड्काको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।