काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानविनको माग गर्दै प्रतिनिधि सभामा जरुरी महत्त्वको सार्वजनिक प्रस्ताव दर्ता गराउने भएको छ।
अवैध रुपमा ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा बरामद भएको भन्दै रास्वपाले त्यसबारे निष्पक्ष छानबिनका लागि जरुरी महत्त्वको प्रस्ताव पेस गर्ने तयारी गरेको हो। संसदीय दलको बैठकले जरुरी महत्त्वको सार्वजनिक प्रस्ताव पेस गर्ने निर्णय गरेको रास्वपाका एक सांसदले जानकारी दिए।
‘सुन तस्करी प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्ने भन्नेजस्ता उग्र कुराहरु माग गर्ने भन्ने विषय पनि बाहिर आएका छन्। हामी उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि जरुरी महत्त्वको सार्वजनिक प्रस्ताव पेस गरेर लोकतान्त्रिक पद्धतिलाई सहयोग पुर्याउने निष्कर्षमा पुगेका छौं। हामीले राजीनामा माग गर्ने कुरा उठाउँदैनौं,’ रास्वपाका ती सांसदले भने।
जरुरी महत्त्वको प्रस्ताव प्रस्तावको मस्यौदा तयार भइसकेको जनाइएको छ। प्रस्तावमा अहिले २० जना सांसदले हस्ताक्षर गरेका छन्। प्रतिनिधि सभामा उपसभामुख बाहेक रास्वपाका २० जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।