काठमाडौं- अवैध रुपमा नेपाल भित्रिएको झन्डै सय किलो सुन राजश्व अनुसन्धान विभागले पक्राउ गरेको छ। राजश्वले अवैध सुन बरामद गरेको विषयलाई लिएर सरकार (गृहमन्त्री नारायणकाजी श्रेष्ठ)ले त्यसमा संलग्न कसैलाई नछाड्ने निरन्तर बताउँदै आएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने गृहमन्त्री श्रेष्ठविरुद्ध खनिइरहेको छ। उक्त विषयमा गृहमन्त्री श्रेष्ठसहित अर्थमन्त्री डा प्रकाशशरण महतमाथि समेत प्रश्न गरिरहेको छ।
एमाले किन आक्रोशित छ?
माओवादी केन्द्रका नेता-कार्यकर्ता लगायतले सरकारले सुन पक्रेपछि एमालेहरुले विरोध गरेको भाष्य सिर्जना गरिरहेका छन्। त्यसमा एमालेका निकटस्थ व्यापारी हुन सक्ने भन्दै सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीसँग उभिएको व्यापारी दिपक मल्होत्राको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
त्यसैमाथि केही दिनअघि गृहमन्त्री श्रेष्ठले कुनै 'टार' र 'कोट'को संलग्नता भए पनि नछाड्ने अभिव्यक्ति दिए। पत्रकारहरुले यसको नेक्सस बालुवाटार, खुमलटार र बालकोटसम्म पुगेको अवस्थामा के गर्नुहुन्छ? भन्ने प्रश्नको उत्तर थियो त्यो।
त्यही विषयलाई लिएर एमाले अध्यक्ष ओलीले कम्बोडियाबाट फर्किंदै गर्दा गृहमन्त्री श्रेष्ठमाथि आक्रोश पोखेका हुन्। काँक्रा चोरेर खाने एउटा, बियाँ अर्कैको कोटको गालामा टाँस्न सरकार उद्दत भएको टिप्पणी ओलीको थियो।
ओलीले भनेका थिए, 'म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ। बत्तमिज हुनु एउटा कुरा हो, यो बत्तमिजी मात्र होइन, गैरजिम्मेवारको हद भयो। जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ?’
बाहिरिएपछि पक्रिँदा आशंका सरकारतिरै!
सरकार निकटस्थ दलका कार्यकर्ताले स्वतन्त्र छानबिन हुन नदिन विषयान्तर गरिरहेको बुझाइ एमालेको छ। ओलीले यही आशंकामा गृहमन्त्रीलाई प्रश्न गरेका छन्, 'आकाशमा चिल देखाएर यता के लुकाउन खोजेको?'
आफैं गृहमन्त्री भएर 'यसको भए पनि उसको भए पनि' भन्ने जस्ता गैरजिम्मेवार कुरा गरेको ओलीले उल्लेख गरेका छन्। उनले टेबल ठटाउँदै थपेका थिए, 'गृहमन्त्रीले बताउनुपर्यो, उहाँको संलग्नता छ छैन, यसमा? सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला? उहाँको चाहिँ संलग्नता छ कि छैन, छैन भने कसको संलग्नता छ? को छ यसमा?'
त्रिभुवन विमानस्थलका सबै सुरक्षा पार गरेपछि बाहिर ट्याक्सीमा उक्त सुन पक्राउ परेको हो। सुनले सरकारको वैधानिक निगरानी क्षेत्र सहज पार गरेका कारण यसमा सरकारमै रहेकाहरु संलग्न हुनसक्ने आशंका एमालेको छ। एमालेलाई लागेको छ- विभिन्न तह र निकायको निगरानी सहजै पार गर्नुको पछाडि ठूलै सेटिङ छ।
एमालेभित्र सूचनामा पहुँच राख्नेमध्येका एक नेता विष्णु रिजालले केही दिनअघि 'कसैमाथिको आरोप होइन, तथ्य हो' भन्दै लामो स्टाटस लेखे। उनले लेखेका थिए, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण रुपमा सत्ताधारी नेताहरुको कब्जामा छ। काम गर्ने अधिकारीका रुपमा सरकारी कर्मचारी पठाइए पनि त्यहाँ छानी-छानी र सेटिङ मिलाएर पठाइएका व्यक्तिहरु मात्र नेतृत्वमा छन्।'
उनले केही अधिकारीको नामसमेत उल्लेख गर्दै सत्ताधारी नेताहरुसँगको निकटस्थता समेत औंल्याएका थिए। त्यसले आम एमालेजनमा 'सरकारमै रहेकाहरुको' संलग्नता भएको धारणा बनाउन सहज बनायो। सरकारले अझैसम्म उक्त सुनका नेपाली मालिक पत्ता लगाउन सकेको छैन। जसको उत्तर एमालेले प्रतिनिधि सभामा पनि खोज्ने प्रमुख सचेतक पदम गिरीले बताएका छन्।
सुन तस्करीका विषयमा मन्त्रीहरु (गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री)ले जिम्मेवारी लिनुपर्ने विषयमा भने आफूहरु प्रष्ट रहेको उनले बताए। गिरीले भने, 'उहाँहरुले जिम्मेवारी लिनुपर्छ भनेर हामीले भनिरहेकै छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।