काठमाडौं– कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानुन छिट्टै संसद्मा लैजाने तयारीमा रहेको बताएका छन्।
भीमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षामन्त्रीसमेत रहेका कार्यबाहक प्रधानमन्त्री खड्काले देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिबद्ध रहेकोसमेत प्रष्ट पारे।
कार्यक्रममा यसवर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो। एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार कार्यबाहक प्रधानमन्त्री खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा कार्यबाहक प्रधानमन्त्री खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पूर्णरुपमा प्रतिबद्ध भएको पनि जानकारी दिए। खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाएको उल्लेख गरे।
उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको दाबी गरे। कावा प्रधानमन्त्री खड्काले भने, ‘थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो। सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ। उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो।’
पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गरेको उनले बताए। ‘परिस्थितिवस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो’, कावा प्रधानमन्त्री खड्काले भने।
तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गरेको, सामाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गरेको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गरेको उनले स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।