काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा चालू खर्चको तुलनामा पुँजीगत खर्च बढी गर्न सफल भएको छ।
मेलम्ची नगरपालिकाको २०७९/०८०मा चालूतर्फ विनियोजन गरेको कूल रकमको ८० दशमलव ६७ प्रतिशत रकम खर्च गरेको छ भने पुँजीगततर्फ विनियोजित रकमको ८० दशमलव ७६ प्रतिशत खर्च भएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले बताए।
नगरपालिकाले २०७९/०८० मा चालूतर्फ ९५ करोड ३ लाख १९ हजार विनियोजन गरेकोमा ७६ करोड ६६ लाख ५० हजार खर्च गरेको छ। त्यस्तै पुँजीगततर्फ ७८ करोड ५३ लाख ३२ हजार खर्च भएको हो।
मेलम्चीले २०७८/०७९मा चालूतर्फ ७६ दशमलव १६ प्रतिशत र पुँजीगततर्फ ५४ दशमलव २ प्रतिशत मात्रै खर्च गरेको नगरपालिकाले २०७९/०८०मा भने उल्लेख्य सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए।
देशभरका संघ, प्रदेश र स्थानीय तहको बजेटमा चालूभन्दा पुँजीगत खर्च बढी गर्ने भनिए पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन। मेलम्ची नगरपालिकाले यसलाई आफूहरूले प्रमाणित गरेको लेखा अधिकृत पुडासैनीले बताए। सरकारी तथ्यांक हेर्दा सम्भवतः चालूभन्दा पुँजीगत खर्च बढी गर्ने मेलम्ची नगरपालिका देशकै पहिलो नगरपालिका हुनसक्ने अनुमानसमेत गर्न सकिन्छ।
गत आर्थिक वर्षमा संघीय सरकारको चालूतर्फ ८५, पुँजीगततर्फ ६१ दशमलव ४४ र वित्तीय व्यवस्थातर्फ ८२ दशमलव ५८ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले समीक्षा बैठकमा आफ्नो कार्यकालको पहिलो वर्षमा यो उपलब्धि हासिल भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई यो उपलब्धिका लागि धन्यवाद दिएका छन्। उनले आगामी वर्षमा चालूभन्दा पुँजीगत खर्च बढाउनका लागि नगरपालिका लागि परेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।