काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताए।
जता हेर्यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्ने उल्लेख गरे। नेता कोइरालाले राज्यले नै दण्डहीनतालाई बढाउने प्रयास गरिराखेको दाबी गर्दै फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएकोले यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताए।
नेता कोइरालले भने, ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजेको मैले पाइराखेको छु। जता हेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यहीँ भ्रष्टाचार देखिन्छ। यो केन्द्रीय समितिपछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले अगाडि बढ्नै पर्छ। नत्र कांग्रेसको औचित्य समाप्त हुन्छ।’
फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिँदा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको उनले बताए। ‘भुटानी शरणार्थीको कुरा गर्दा अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने?,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।