काठमाडौं- गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुनी डण्डा चलाउने भएको छ। आयोगले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै खर्च विवरण नबुझाएका उम्मेदवारलाई ३५ दिन भित्र १५ हजारका दरले जरिवाना दाखिला गर्न भनेको छ।
‘निर्वाचन कसूर तथा सजाय ऐन, बमोजिम जनही पन्ध्र हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको छ,’ आयोगले भनेको छ। जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउन आदेश गरेको छ। आयोगले ७ दिन भित्रमा खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारहरुलाई आदेश गरेको छ।
यस्तै, उक्त भाका पुन: नाघे अर्को १ निार्वचनमा उम्मेदवार हुन नपाउने चेतावनी समेत आयोगले दिएको छ।
‘जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय भएको छ,’ आयोगले भनेको छ। र, जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने पनि उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।