धनगढी- सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम सिफारिस गरिएको छ। मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकबाट मन्त्रीमा रामेश्वर र राज्यमन्त्रीमा कैलाशको नाम सिफारिस गरिएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार नै उनीहरुलाई मन्त्रीमा नियुक्त गर्ने सम्भावना छ। दलका नेता कैलाशले भने, ‘मन्त्रीका लागि दलको कार्यालयले नाम सिफारिस गरिसकेको छ। अहिले मुख्यमन्त्रीसँग छलफलमै रहेका छौं। सकभर आज नै मन्त्रिपरिषद विस्तार हुनेछ।’
दोस्रो कार्यकालमा मुख्यमन्त्री बनेका शाहले ६ महिना बढी समय बित्दा समेत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन्। सो मन्त्रालयको स्वयंले नेतृत्व गरिरहेका छन्।
सत्तारुढ दलमै रहेको उन्मुक्ति पार्टीले दुई मन्त्रालय माग गर्दा सो मन्त्रालय मन्त्रीविहीन बनेको थियो।
यस्तै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनाबाट मृत्यु भएपछि सो मन्त्रालय पनि मन्त्रीविहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।