काठमाडौं- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले महाराजको इशारा जता हुन्छ, उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बैठकमा बोल्ने गरिएको बताए।
घिमिरेले भने, ‘केन्द्रीय कार्यसमितिमा जति गम्भीरता हुनुपर्ने त्यति मैले देखिनँ। केन्द्रीय समितिको बैठक कताकता मलाई भारदारी सभाजस्तो लाग्यो। महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन्। त्यतैतिर अभिव्यक्ति आउँछन्। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। काग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन।’
केन्द्रीय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउन नसकेको उनको भनाइ थियो। नेता बालकृष्ण खाणप्रति संकेत गर्दै कांग्रेस नेता घिमिरेले भने, ‘राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिँदैन। त्यो कर्म हो। उहाँकै कर्मले हो। जति पनि व्यक्तिहरु आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।