सुनसरी– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन्।
हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि सुरु हुनेगरी पार्टीले ‘नवीन राप्रपा’ कार्ययोजना लागू गरेको बताउँदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए।
‘मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ, आजैबाट कार्य प्रारम्भ गरेको छु’, उनले भने। उनले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका–१४ को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको बताए।
लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, बहुसंख्यक जनताको भावना विपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए।
‘धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सद्भावका लागि हिन्दूराष्ट्र अपरिहार्य छ’, उनले भने। धर्म निरपेक्षताले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्रको वकालत गरिरहेको लिङ्देनले बताए।
उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताएका छन्। लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बुढासुब्बा मन्दिरमासमेत पुगेको थियो। सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।