काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने मत महामन्त्री गगन थापाले दर्ज गराएका छन्। आफूले बैठकको 'मुड' (निलम्बन नगर्ने) बुझेकाले फरक मत दर्ज गरेको उनले बताए।
उनले भने, 'यो अरु कसैलाई पर्ला। मलाई पर्ला। कामना, कोही नपरुन्। परेकाहरु निर्दोष हुन्। निलम्बन कारबाही होइन। बैठककको मुड बुझेको छु, त्यसैले निर्णयमा मेरो मत दर्ज गराउँछु। पार्टीको निर्णयमा मेरो मत रहोस्।'
यसअघि बोलेका कांग्रेस नेता मिनबहादुर विश्वकर्माले खाण कांग्रेस परिवारकै सदस्य रहेकाले सदासयता रहनुपर्ने बताएका थिए। बरु उनलाई मुद्दा लड्न सघाउनुपर्ने आसय व्यक्त गरेका थिए।
महामन्त्री शर्माले जवाफमा भने, 'भ्रष्टाचारको जात, लिंग र परिवार हुँदैन। कुनै पनि व्यक्ति कांग्रेस हुँदैमा भारी पनि बोकाउनु हुँदैन, छुट पनि हुनुहुँदैन।'
फौजदारी अभियोग लागेको व्यक्ति आफैंले पार्टीका जिम्मेवारीबाट अलग बनाउनुपर्ने पनि उनले उल्लेख गरे। आफैंले अलग नराखे पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखे। प्रतिनिधि सभामा नियमावलीमा समेत तीन वर्षभन्दा बढी फौजदारी अभियोग लागेकोलाई निलम्बन गर्ने प्रावधान रहेको बताउँदै निलम्बन कारबाही नरहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।