काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आसपासमा बसेर धुप जलाउनेको नभई नागरिकसँग सम्वाद गर्नुपर्ने बेला भएको बताएका छन्।
केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, 'विगतलाई नियाल्दा यस्तो बेलामा पार्टीको नेतृत्व कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्दोरहेछ। आसपासबाट धुपसुप जलाउनेसँग होइन, झ्यालबाट चिहाउने पनि होइन, किन रिसायो भनेर नागरिकसँग संवाद गर्नुपर्दो रहेछ। त्यसपछि उनीहरुले आफ्ना कुरा भन्छन्, नेतृत्वले त्यसैलाई लिएर पार्टी जुरुक्क उचाल्न सक्छ।'
उनले नागरिकहरु असन्तुष्ट रहेको आफूले बताएका छन्। कांग्रेसको आह्वानमा व्यवस्था बदल्न साथ दिएका नागरिकले अवस्थाका विषयमा प्रश्न गरिरहेको उनले उल्लेख गरे। उनले थपे, 'नागरिकहरु भनिरहेका छन्- आह्वानमा साथ दियौं। अवस्था किन बदलिएन। भ्रष्टाचार हटाउँछौं भन्थ्यौ। हरेक दिन रेडियोमा त्यस्तै समाचार आइरहेका छन् र त्यहाँ तिमीहरुकै नाम जोडिएको हुन्छ।'
उनले आमजनको भान्सादेखि खेतसम्म खाली रहेको बताए। यस्तो निराशा चिर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उल्लेख गरे। त्यस्तो गर्न नसक्दा सरकारमा रहनुको अर्थ नरहेको उनले उल्लेख गरे। उनले भने, 'सरकारमा हामी हिजो पनि थियौं। आज पनि छौं, भोलि पनि हुन्छौं। सरकारमा हामी हुँदा के हुन्छ? हामी सरकार नभए नागरिकले के पाउँदैनथ्यो, सरकारमा भएका कारण के पायो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।