काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न काण्डमा अहिले भइरहेको अनुसन्धान प्रक्रियालाई स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढाइने बताएका छन्। सोमबार आयोजित 'समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता' विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अनुसन्धानले तथ्य र प्रमाणको आधारमा जहाँसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म पुगिने बताए।
उनले राजनीतिक नेताहरु, व्यवसायीहरु तथा कर्मचारीहरु दोषी देखिए, नियन्त्रणमा लिइए वा मुद्दा चलाइयो भने ती क्षेत्रबाट 'यो त भएन नि' भन्नै असन्तुष्टि व्यक्त हुने गरेको बताए। उनले प्रश्न गरे, 'त्यसो भए कसलाई कारबाही गर्ने? त्यही निमुखा, गरिब, शक्ति नभएका भनिएका त्यो जनतालाई गर्ने कारबाही?'
उनले धनीलाई एउटा र गरिब अर्को कानुन, विपन्नलाई एउटा र सम्पन्नलाई अर्को कानुन आफूले नमान्ने बताए। सरकारले त्यसलाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ। 'राजनीतिक नेताहरुलाई एउटा कानुन, राजनीतिमा नभएकालाई अर्को कानुन हुनसक्दैन। कर्मचारीलाई एउटा कानुन, र त्यो कर्मचारीकहाँ सधैं धाउने जनतालाई अर्को कानुन हुनसक्दैन', उनले थपे, 'कानुन सबैका लागि समान हुन्छ।'
कानुन सबैका लागि समान भए मात्रै सुशासनद्वारा समृद्धिको यात्रालाई अगाडि बढाउने महत्त्वपूर्ण आधार तयार पार्न सकिने बताए।
उनले अहिले भइरहेका अनुसन्धानमा 'त्यहाँसम्म किन नपुगेको', अरुलाई कारबाही गरे हुन्थ्यो तर 'यसलाई त गर्नुभएन' भन्ने खालका विषय उठ्ने गरेको बताए। उनले भने, 'कोहीलाई बढी गर्योई भन्ने छ। कोहीलाई तान्नुपर्नेलाई तानेन भन्ने छ। यसमा मेरो मान्यता के हो भने तपाईंको मनले ठानेर वा तथ्य नै पनि होला, तर त्यसको प्रमाण नभइकन राज्य र सरकारले केही गर्न सक्दैन। ब्याकफायर हुने काम गर्न सक्दैन।'
श्रेष्ठले तथ्य र प्रमाणले भेटेसम्म सबैलाई कानुनको दायरामा ल्याउने बताए। उनले माओवादी केन्द्र, कांग्रेस, एमाले, एकीकृत समाजवादी वा जनता समाजवादी पार्टीको भनेर आफूलाई पार्टीको कुनै मतलब नभएको बताए। 'सरकारलाई कुनै मतलब छैन। कानुनको अगाडि सबै समान हुन्छ। कि भ्रष्टाचारी हुन्, कि भ्रष्टाचारी होइनन्। कि दोषी हुन्, कि दोषी होइनन्। कुरो त्यही हो। यसै आधारमा अगाडि बढ्नुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।