काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादको यात्रालाई ठिक राख्ने हो भने पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउनुपर्ने बताएका छन्। नत्र समाजवादको यात्रा सुरक्षित हुन नसक्ने उनको भनाइ छ।
भुसालले समाजवादलाई ग्यारेन्टी गर्ने हो भने समाजवादी पार्टी चाहिने बताए। जुन पार्टीका नेता र कार्यकर्ता आम्दानीभन्दा बढी उपभोग गर्छन्, तिनले जतिसुकै समाजवादको कुरा गरे पनि अन्ततः तिनीलाई दलाल पुँजीवादले किनिछाड्ने र भ्रष्ट भइछाड्ने भुसालको भनाइ छ।
'समाजवाद केले ग्यारेन्टी गर्छ? भ्रष्टाचाररहित समाजको ग्यारेन्टी कसले गर्छ? नारायणकाजीले? नारायणकाजी त्यहाँ रहने कुराको ग्यारेन्टी केले गर्छ? यो कुरा हेर्न सकिएन भने भ्रष्टाचार भनेको दुई दिनको कुरा हुन्छ', सोमबार आयोजित 'समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता' विषयक प्रवचन गोष्ठीमा भुसालले भने।
उनले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्मतापूर्वक कारबाही गर्ने बहस ठिक भए तापनि यसले मात्रै नपुग्ने बताए। उनले उत्पादनभन्दा उपभोग बढी नगरेका सदस्यहरुको केन्द्रीय कमिटीमै ग्यारेन्टी हुनुपर्ने बताए। 'पार्टीमा ग्यारेन्टी हुनुपर्यो। त्यसो भयो भने त्यो पार्टी नै क्रान्तिकारी पार्टी हुन्छ। एउटा दुइटा व्यक्ति होइन', उनले भने।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत सहभागी गोष्ठीमा भुसालले मानकका हिसाबले नारायणकाजीलाई लिने हो भने त्यो पार्टीका हरेक सदस्य भ्रष्टाचार मुद्दामा नारायणकाजी हुनुपर्ने बताए।
नारायणकाजीले पपुलिजमको लडाइँमा भने जित्न नसक्ने भुसालले ठोकुवा गरे। 'अर्कै आउँछ। नयाँ नौजवान, अझ फन्टुस, जे पनि गर्न सक्ने, हर कुरा गर्न सक्ने ती सबै आउँछन् र नारायणकाजीहरुलाई हराइदिन्छन्। दलाल पुँजीवादले त्यस्तो निकाल्छ। विश्व पुँजीवादको प्रवाहले त्यस्तो निकाल्छ। सिँगार्छ। हाइहाइ बनाउँछ। त्यो सबै गर्छ। सबै जानेको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।