भैरहवा- अर्थ मन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको चालु केन्द्रीय समिति बैठकमा नयाँ प्रयोग भएको बताएका छन्। उनले केन्द्रीय समिति बैठकले कांग्रेसलाई जोड्ने काम गरेको दाबी समेत गरेका छन्।
प्रेस युनियन रुपन्देहीले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महतले बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम आज सकिने र भोलिसम्म प्रस्ताव पारित गरिने बताए। उनले भने, ‘कांग्रेस बैठकमा नयाँ प्रयोग भयो। पार्टीलाई जनतासँग जोड्ने काम भयो। प्रत्यक्ष प्रसारणबारे सकारात्मकक प्रतिक्रिया आइरहेको छ।’
नेपाली कांग्रेसभित्र के भइरहेको छ भनेर भ्रम र अन्योल सिर्जना गर्ने प्रयास हुन्थ्यो। तर प्रत्यक्ष प्रसारण सहितको बैठकले पार्टी भित्रको यथार्थ स्थिति स्पष्ट भएको मन्त्री महतले बताए।
‘केन्द्रीय समितिमा एकदमै सिर्जनात्मक छलफल भएको छ। व्यक्ति होइन, पार्टीलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्न सकिन्छ। र, देशको समसामयिक मुद्दालाई सम्बोधन गर्दै समयानुकुल गतिशील कसरी बनाउने र पार्टीभित्र कसरी अनुशासन कायम राख्दै बैठकले जे निष्कर्ष निकाल्छ त्यसलाई सबैले अपनत्व ग्रहण गरेर अगाडि बढ्ने बैठकमा छलफल भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।