काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग चीनका कम्युनिष्ट पार्टी (सीपीसी) का केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य युआन च्या च्युनले शिष्टाचार भेट गरेका छन्।
रक्षा मन्त्रालयमा भएको भेटघाटको क्रममा मन्त्री खड्काले नेपाल-चीन सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए। उनले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे।
मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै उनले चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरेका थिए।
सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता च्युनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, शहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकास, युवाहरुको आदान-प्रदान लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विचार राखेको रक्षा मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।