काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले सभापति शेरबहादुर देउवाका कारण कांग्रेस कमजोर हुँदै गएको आरोप लगाएका छन्। आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मन्सुरले उक्त आरोप लगाएका हुन्।
उनले भने, ‘सभापतिको नेतृत्वमा कांग्रेस कमजोर हुँदै गएको छ। समावेशिता कमजोर हुँदैछ। समानुपातिक प्रणालीमाथि प्रहार भइराखेको छ। उपलब्धिमाथि प्रहार भइराखेको छ। देशभरिमा साढे ५ प्रतिशत मुसलमान छन्। जम्मा एक जना मुसलमानले टिकट पायो। एउटा दलितले टिकट पाएन, देशभरिमा। थारु, मधेसीहरुले जनसंख्याको आधारमा टिकट पाएनन्। त्यति मात्र होइन, संविधानले अनिवार्य गरेको ३३ प्रतिशत महिला छैनन्।’
उनले संघीय निर्वाचनको परिणाम आउँदा संघमा दलित मुसलमानको उपस्थित नभएको र समानुपातिकतर्फ निर्णय गर्दा दलित, थारु र मुसलमानहरुलाई उपेक्षा गरेको बताए।
उनले कांग्रेसलाई राप्रपाको भाइको संज्ञा दिए। मन्सुरले भने, ‘आज चार दिनको बैठकमा सुनिराखेको छु। लिंङ्दनेको पनि चार वटा प्रस्ताव छ। गणतन्त्र समाप्त हुनुपर्छ। संघीयता समाप्त हुनुपर्छ। समानुपातिक प्रणाली खारेज हुनुपर्छ। धर्म निरपेक्षता समाप्त हुनुपर्छ। कांग्रेसमा पनि त्यस्तो तीन वटा प्रस्ताव आइसक्यो। लिंङ्देनका भाइहरु हुन कि क्या हो? एउटा गणतन्त्र मात्रै बाँकी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।