काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले २०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे अहिले नै अल्मलिन नहुने बताएका छन्। आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै पाण्डेले गत मंसिरमा निर्वाचनका क्रममा गरेको गठबन्धन लगभग बहुमत नजिक पुगेको उल्लेख गरेका छन्।
सहमहामन्त्री पाण्डेले भने, ‘यही गठनबन्धनलाई जोगाएर पाँच वर्ष स्थिर शासन दिन सक्यौं भने परिणाम सकारात्मक आउँछ। २०८४ सालमा एक्लै लड्ने कि गठबन्धन गर्ने भन्ने कुरा अहिले नै निर्क्योल गर्नु पर्दैन। पार्टी बलियो बनाउँदै जाने हो भने २०८४ सालमा एक्लै लड्नुपर्छ भन्ने पार्टीमा जनमत छ। हामी पार्टी बलियो बनाउनेतिर लागौं।’
पाण्डेले गएको १४औं महाधिवेशनमा एकता, उत्साह र रुपान्तरण पार्टी महाधिवेशनको नारा रहेको स्मरण गरे। उनले भने, ‘वास्तवमा यही नाराको आलोकमा हामीले हाम्रा कार्यक्रमहरु, सांगठनिक गतिविधिहरु अगाडि बढाउनु पर्छ।’ उनले महामन्त्रीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अल्मलिनु पर्ने अवस्था नरहेको बताए।
महामन्त्री पाण्डेले अर्थतन्त्र संकटका कारण मान्छेहरु आतंकित रहेको बताए। उनले विदेशको पैसा स्वदेश नआउने, स्वदेशको पैसा पनि स्वदेशमै लगानी नआउने, सहकारीमा मान्छेहरुले विश्वास नगर्ने, लघुवित्त नचल्ने र बैंकप्रति समेत मान्छेको भरोसा घट्दै गएको बताए।
उनले केन्द्र र प्रदेश सरकारका बजेटप्रति असन्तुष्टि रहेको बताए। उनले आर्थिक लगानी बढाउनका लागि लगानी सम्मेलन गर्नुपर्नेमा काग्रेसले अगुवाइ गर्नुपर्ने बताए। सहमहामन्त्री पाण्डेले शासन र सुशासनमा समस्या उत्पन्न भएको आरोप लगाए।
उनले भने, ‘सेनालाई कुनै बेला हामीले विभिन्न खालका आयोजनाहरु सञ्चालन गर्न दियौं, माओवादी हिँसाको बेला। कर्णाली करिडोर लगायतका काम दियौं। तर यति बेला सेना पैसामा फस्यो। सेना आफैं चाहिँ नाफाखोर हुन थाल्यो।’ उनले सेनालाई व्यापारी जस्तो हुन थाल्यो भन्ने कुरा जनमानसको प्रतिक्रिया रहेको बताए।
उनले सर्वोच्च अदालत लगायतका न्यायालयमा सेटिङमार्फत भ्रष्टाचार भएको बताए। उनले महासमितिको बैठकलाई नै नीति अधिवेशन बनाउनु पर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।