काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐन २०६४ लाई संशोधनका लागि प्रक्रिया अगाडि भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यो ऐनलाई विद्यमान परिवेश र अपराध अनुकुल बनाउने घोषणा गरेको छ।
राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक गरिएको मौद्रिक नीतिमा वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने उल्लेख छ।
पछिल्लो समय बैंकको ब्याज र ऋणका विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलन र लघुवित्त तथा बैंकको ऋण समयमा चुक्ता गर्न अटेर गरी हुलहुज्जत गर्नेहरुलाई समेत कारबाहीको दायरमा ल्याउन मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको हो।
विभिन्न व्यक्ति तथा समुदायले बैंकिङ क्षेत्रमा अराजक गतिविधि जारी राख्ने, बैंकका कर्मचारीलाई कालोमोसो दल्नेलगायतका कार्यलाई निरुत्साहित गर्ने भन्दै राष्ट्र बैंकले ऐन नै संशोधनका लागि प्रक्रिया अघि बढाउने आफ्नो नीतिमा उल्लेख गरेको हो।
त्यस्तै, सम्पत्ति शुद्धीकरण र अन्य कानुनहरुलाई पनि समसायिक बनाइने मौद्रिक नीतिमा उल्लेख छ।
पारस्परिक मूल्यांकनबाट प्राप्त सुझाव समेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु जारी गरिने तथा सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।