काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। आइतबार सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले त्यसलाई सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ।
व्यवसायी र आर्थिक क्षेत्रले अहिलेको सुस्त आर्थिक अवस्थालाई ख्याल गर्दै खुकुलो मौद्रिक नीति ल्याउन माग गर्दै आएका छन्। राष्ट्र बैंकले भने मौद्रिक नीतिमार्फत् केही क्षेत्रमा कडाइ गर्ने प्रयास गरिरहेको छ।
हाल ४ प्रतिशत रहेको वित्तीय संस्थाले केन्द्रीय बैंकमा राख्नुपर्ने अनिवार्य नगद अनुपात (सीआरआर)लाई यथावत् राख्ने तयारी गरेको छ। केन्द्रीय बैंकले घट्दो मुद्रास्फीति (मूल्यवृद्धि)लाई मध्यनजर गर्दै नीतिगत दरलगायत ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई घटाउने तयारी गरेको छ।
राष्ट्र बैंकले सिथिल अर्थतन्त्रलाई केही चलायमान बनाउन मौद्रिक नीतिको कार्यदिशा केही खुकुलो बनाएर जानुपर्ने कुरा केही दिनअघि अर्थमन्त्री प्रकाशशरण महतले पनि बताएका थिए।
खस्किँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै कर्जा विस्तारभन्दा पनि असुली गर्नेतिर मौद्रिक नीति बढी केन्द्रित हुने देखिन्छ। मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जाको विस्तार करिब १० प्रतिशतको नजिक हुने लक्ष्य बनाउने तयारी छ।
नयाँ आर्थिक वर्षका बन्ने मौद्रिक नीतिले शिथिल अर्थतन्त्र उठाउने आशा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।