काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा देखा परेका मतभेदलाई तत्काल अन्त्य गर्न आवश्यक भएको बताएका छन्।
सुनसरीको इनरुवामा शनिबार आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टी भित्र देखा परेका मतभेदलाई अन्त्य गर्नुपर्ने तर्क गरे।
लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति तथा समृद्धि ल्याउन पनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टी भित्र एकतावद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो।
उनले भने, ‘हाम्रो पार्टीमा एकता हुन जरुरी छ। बहुमतको पार्टी बनाउन अति आवश्यक छ। समावेशी समानुपातिक प्रतिनिधित्का कारण कुनै दलको बहुमत आउन सक्दैन भन्ने भनाइ पनि छ। तापनि हामीले आपसी मतभेद हटाउन सक्यौं भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ।’
सभापति देउवाले पार्टी भित्र एकता कायम भए नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।