फाइल फोटो
काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखकले नयाँ पार्टीहरु बर्खायाममा ठूलो बाढी आउने तर मंसिरमा सुक्ने खोला जस्ता भएको बताएका छन्। ४१औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार रामेछापमा कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको रुख रोप्ने कार्यक्रममा सम्बोधन गर्दै उनले उनले कांग्रेलाई भने सबै याममा बग्ने नदीजस्तो भएको बताए।
'आजभोलि बर्खा छ नि। खोला यसरी आएका हुन्छन्, प्रत्येक खोलामा ठूलै बाढी आएका छन्। खोलाहरु ठूलै नदीजस्ता देखिन्छन्। सबै खोला तामाकोशी जस्ता देखिन्छन्। तर मंसिरको महिनामा पनि त्यस्तै रहन्छन्? रहँदैनन्', नयाँ पार्टीतिर कटाक्ष गर्दै उनले भने, 'तर, नेपाली कांग्रेस त्यो नदी हो, जो बर्खामा, हिउँदमा, गर्मीमा नदीकै रुपमा रहिरहन्छ। त्यसैले कालजयी पार्टी हो।'
लेखकले अन्य पार्टी र नेता आयो भन्दैमा कांग्रेस नसिद्धिने भन्दै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीमा केही कमिकमजोरी र गाह्रा अप्ठ्यारा भए त्यसलाई सुधार गर्दै जानुपर्ने बताए। अरु कुनै विकल्प नभएको उनले बताए।
'नयाँनयाँ पार्टी आएको, फलाना पार्टी आइको, कांग्रेस त कमजोर नै भइहाल्यो, सिद्धिनेभयो भन्ने खालको लघुताभाष देशभरमा सुन्छु', उनले भने, 'तर, म आग्रह गर्न चाहन्छु, कांग्रेस पार्टी यसको विचार, बीपीले दिनुभएको दर्शन कालजयी हो।'
यो देशमा कांग्रेस नभएको भए माओवादी र एमालेको लोकतन्त्रमा रुपान्तरण हुनसक्दैनथ्यो भन्ने लेखकको भनाइ छ। उनले भने, 'त्यसैले यो कालजयी पार्टी हो। कालजयी विचार हो। जुन बीपीले दिनुभयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।