काठमाडौं- सभामुख देवराज घिमिरेले आफू कानुन र सरकार निर्माण गर्ने ठाउँमा रहेको बताएका छन्। शुक्रबार चन्द्रागिरिमा आयोजित संघीय संसद् र प्रदेश सभामुख अनुभव आदान-प्रदान एवं अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले भने, ‘हामी कानुन निर्माण र सरकार निर्माण गर्ने ठाउँमा छौं।’
मुलुक संघीयता कार्यान्वयनमा गई तीन तहको सरकार रहेको उल्लेख गर्दै उनले आफ्नो विधायिकी भूमिका महत्वपूर्ण रहने बताए।
संसदीय परिपाटीलाई कसरी विकास गर्न सकिन्छ भन्नेमा संघीय संसद्को चिन्ता र चासो रहेको बताए। सभामुख घिमिरेले सात वटै प्रदेशका सभामुख सहितको छलफलमा विधेयकहरुलाई अघि बढाएर कानुन निर्माण गर्ने,कानुन लागू गर्न सरकारलाई निर्देशन दिने विषयमा चर्चा हुने बताए।
जनताले अपेक्षा गरेका प्रदेशको काम केके हुन्? संघले प्रभाव पारेका काम केके हुन् भन्नेबारेमा व्यापक रूपमा छलफल हुनु जरूरी भएको बताउँदै उनले काममा आएका बाधा केके हुन्,त्यसलाई अन्त्य गर्नका लागि राजनीति पार्टीको भूमिका,विधि निर्माण र कार्यान्वयन केके हुन्छ भन्ने यो भेलाले सम्बोधन गर्ने बताए।
सभामुख घिमिरेले संसार र नेपाली जनताले संसदलाई विशेष आशाका साथ हेरिरहेका बताउँदै निर्माण गरेका ऐन कार्यान्वयनका सन्दर्भमा सरकारलाई निर्देशन दिने काम समेत सभामुखको भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।