काठमाडौं- नेपाली कांग्रेसको चौथो दिनको बैठक बालकृष्ण खाणको बचाउमा केन्द्रित भएको छ। शुक्रबार बोल्ने अधिकांश सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यले खाणलाई निलम्बन गर्नुपर्ने प्रस्तावको खण्डन गरे।
खाण ‘कांग्रेस परिवार’को सदस्य रहेको उल्लेख गर्दै जोगाउन सक्रिय हुनुपर्ने आशयसमेत बैठकमा प्रकट भएको छ। नेपाली कांग्रेस केन्द्रीय सदस्यका साथै प्रवक्ता मिनबहादुर विश्वकर्माले घरको सदस्य पक्राउ पर्दा प्रहरी कार्यालयमा बुझाउने जस्तो भएको बताए।
उनले बैठकमा भने, ‘हाम्रा परिवार छन्। एक सदस्य मुछियो भन् वकिल राख्छौं कि राख्दैनौं कि थपक्क थानामा बुझाउँछौं। परिवारका सदस्यलाई अभियोग लागे हामी लुकाउँछौं कि थानामा लगेर बुझाउँछौं? कि छिटो पक्राउ गर भनेर डेलिगेशन जान्छौं?’
आफू कानुनकोसमेत विद्यार्थी भएको बताउँदै अभियोग मात्रै भएकाले निलम्बन गर्न नहुने पक्षमा मत राखे। अन्य पार्टीहरुले आफ्नो नेता र कार्यकर्ता जोगाउने उल्लेख गर्दै उनले कांग्रेसले त्यस्ता आदर्श छाड्नुपर्ने उल्लेख गरे।
अर्का नेता शंकर भण्डारीले खाणप्रति नेताहरु कृतध्न भएको उल्लेख गर्दै अभियोग मात्रै लागेको बताए। केन्द्रीय सदस्य पुष्पा भुसालले अभियोग मात्रै लागेको विषयलाई अजेण्डा बनाउन नहुने बताइन्। उनले खाणको पक्षपोषण गर्दै भनिन्, ‘अभियोग लाग्यो भनेर न्यायपालिकामा विचाराधीन मुद्दालाई कांग्रेसको अजेण्डा बनाउन हुँदैन। संविधान र कानुन मान्छौं भनेर कसरी भन्ने?’
अर्का नेता अजय चौरासियाले यसअघि खुमबहादुर खड्कालाई अभियोग लाग्दासमेत नेताहरु मौन बसेको भन्दै चित्त दुखाइ प्रकट गरे। उनले भने, ‘खुमबहादुर दाइलाई मुद्दा चल्दा नेताहरु पक्षमा पनि बोल्नुभएन। अरुको चल्दा पनि बोल्नुभएन। दाङमा सतवरियामा पुर्खाले बनाएको घरलाईसमेत अकुत सम्पत्तिमा मुद्दा चलाइयो। माओवादीले बमले घर उडाएको घरको अकुत सम्पत्तिमा चलाउँदा पार्टी बोलेन।’
खाणका विषयमा कुनै प्रमाण र साक्षीसमेत नरहेको दाबी गर्दै उनले अदालतको निर्णय नआउँदै पार्टीले कुनै निर्णय लिन नहुने उल्लेख गरे। उनले भने, ‘खाणजी थुनामा हुनुहुन्छ। उहाँको समयमा कति मान्छे बाहिर गए, कति आरोप सत्य छ? न बयानमा नाम भनेका छन्। न प्रमाण र साक्षी छ।’ कांग्रेसकै मान्छेले उनकाविरुद्ध बोलेको भन्दै त्यसले फैसलामा असर गर्ने बताए। न्यायाधीशले सफाइ दिन आँट नगर्ने उनको दाबी थियो।
कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने ‘प्रस्ताव’को केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि जोडदार प्रतिवाद गरे। केन्द्रीय समितिको जारी बैठकअन्तर्गत शुक्रबार आफ्नो धारणा राख्दै वाग्लेले खाणलाई फसाइएको हुनसक्ने आशंका गरे। त्यसकारण अदालतको फैसला कुर्न आग्रह गरे।
उनले भने, ‘अदालतको फैसलापछि मात्रै कोही दोषी प्रमाणित हुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पनि दर्जनौं मुद्दा छन्। उनी फेरि राष्ट्रपतिको उम्मेदवार बन्न खोज्दैछन्। हाम्रो गाडीमा कसैले २ केजी गाँजा राखिदियो। मुद्दा चलाइयो। न्यायालयको निर्णय पर्खिनुपर्छ कि पर्दैन? यसमा विवेक राख्न साथीहरुलाई आह्वान गर्छु।’
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि जेलमा रहेका पार्टी नेता बालकृष्ण खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने विषयमा विपक्षमा नेता जितजंग बस्नेतसमेत उभिए। उनले आरोप लाग्दैमा कोही दोषी नहुने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जोडे। सुन तस्करी प्रकणमा उनकोसमेत नाम जोडेर हल्ला चलाइएकाले ‘राजीनामा माग्न जाऔं’ भन्दै व्यंग्य गरे।
‘सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी, कृष्णबहादुर महरा र केपी ओलीको नाम आएको छ। यो विषयमा हाम्रा साथीहरु बोल्ने कि नबोल्ने? नेपाली कांग्रेस बोल्ने कि नबोल्ने? हाम्रो साथीहरुको नाम आए चर्को–चर्को कुरा गर्नुहुन्छ। हाम्रा केही साथीहरु गृहमन्त्रीकहाँ जानु भएको थियो,’ उनले भने, ‘आज म पनि जान्छु उहाँहरुसँग। जाउँ न त नारायणकाजीको नाम आइसकेको छ। उहाँको विषयमा राजीनामा माग्न जाऔं। को–को मान्छे हुन सुन प्रकरणमा दोषी? यस विषयमा छानबिन हुनुपर्यो।’
शुक्रबारको बैठकमा ३३ जनाले आफ्नो भनाइ राखेका छन्। साउन २ गतेदेखि जारी बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, ध्रुव वाग्ले, गेहेन्द्र गिरी, डा आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले धारणा राखेका हुन्।
बैठकमा धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ। शनिबार बैठकलाई ब्रेक गरेर आइतबार ११ बजेदेखि निरन्तरता दिइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।