काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो भएको र प्रारम्भिक संकेत भएको बताएका छन्।
‘जब अति हुन्छ, जब जनताको धैर्यको बाँध फुट्छ तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुने’ भन्दै थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनुबाहेक अर्को विकल्प नभएको दाबी गरे।
शुक्रबार काठमाडौंको शान्ति बाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले भने, ‘जसले यो व्यवस्थाबाट अकुत सम्पत्ति जोडेका छन्, ब्रम्हलुट गरेका छन् र राजनीतिक साम्राज्य कायम गरेका छन् उनीहरु यो व्यवस्था परिवर्तन त के सुधार पनि गर्न चाहन्नन्।’ देश अहिले संकटको दलदलमा भासिएको उनले चर्चा गरे।
नेपाली सेनाबाहेक राज्यका सबै अंग, संरचना र निकायहरुमा धमिरा लागेको भन्दै उनले सामान्य सुधारले अब संकटबाट मुक्ति सम्भव नभएको जिकिर गरे। ‘अब व्यवस्था र प्रणाली नै परिवर्तन गर्नु आवश्यक छ’, थापाले भने, ‘जनताले न्याय पाउने अदालतबाट हो, तर अदालतबाट काकताली परेर बाहेक साधारण अवस्थामा जनताले न्याय पाउने आशा मरिसकेको छ।’
नेता थापाले राजनीतिक पहुँच र सम्पर्कका आधारमा न्यायाधीशहरू नियुक्त हुने भएकाले दल र नेताहरुको आदेश पालना न्यायपालिकाको नियति बनेको बताए। नेताहरुको आदेश नमाने न्यायाधीशहरु महाभियोगको शिकार हुनुपर्ने दु:खद अवस्था भएकोसमेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।