काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित २४औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन्। उनले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए।
उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानुनभन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानुन विपरीत काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए। सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको उनको भनाइ छ।
मन्त्री किराँतीले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए। उनले भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने दाबी गरे।
सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरुको पक्षमा जनता र मिडियाले निष्पक्ष रुपमा भनिदिनुपर्ने उनको अनुरोध थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।