बैतडी– गगन दमाइ, नागरिताको नाम गगन ढोली। ठेगाना दशरथचन्द नगरपालिका–१, हाल स्थायी बसोबास बैतडीको पाटन नगरपालिका ८ बिप्पेकटाल।
उमेरले ६५ कटेका गगनको झुपडीमा परिवारका ४ सदस्य डरै डरले रात बिताउँछन्। कहिले पहिरोको, कहिले हिमपात त कहिले जंगली जनावरको डर। सडक किनारको जंगल अर्थात् ऐलानी जग्गामा उनले १५ वर्ष अगाडि झुपडी बनाएका थिए। झुपडीमा २ कोठा छन्।
झुपडीको तल मुख्य राजमार्ग छ, माथि शाखा सडक। मुख्य र शाखा सडकको बीचमा बनाएको झुपडी कुन दिन कसले भत्काइदिने हो, उनलाई त्यसैको डर छ।
‘६५ बर्ष पुगेँ, कहिले मर्ने हुँ। छोराहरुका लागि कहीँ–कतै सानो जग्गाको टुक्रा भए पनि जोड्न पाए हुन्थ्यो। ओडारै भित्र पनि सरकारले व्यवस्था गरिदिए मरे मुक्ति मिल्ने थियो कि,’ गगन अपेक्षामिश्रित भावमा भन्छन्। केही अगाडि उनका एउटा छोराको हात भाँच्चियो। उपचारका लागि पैसा थिएन। गाउँलेहरुले चन्दा संकलन गरेर उनको उपचार गरिदिए।
१५ वर्ष अगाडि गगन श्रीमती र सन्तानसहित बसाइ सरेर पाटन नगरपालिका–८ को बिप्पेकटाल पुगेका हुन्। बिप्पेकटालको जंगल छेउमा टहरो बनाएर बसेका उनी अहिले भने त्यही टहरोबाट पनि लेखेटिनुपर्ने भयमा रात कटाइरहेका छन्।
उनीसहित श्रीमतीको मतदाता नामावली पाटन–८ बाटै छ। नेताहरुलाई भोट चाहिएपछि पाटन–८ कै मतदाता बनेका उनी मिल्यो भने त्यहीँको स्थायी बासिन्दा नै बन्न चाहन्छन्। तर अहिले बस्दै आएको टहरो पनि कुन दिन कसले भत्काइदिने हो उनलाई थाहा छैन।
ऐलानी भनेर मानिए पनि उक्त जग्गामा दाबी गर्ने अरु गाउँले पनि छन्। केही गाउँलेले त उनलाई ‘तिमी यहाँ बस्न पाउँदैनौं। पुरानै ठाउँ जानुपर्छ’ समेत भनेका छन्।
‘तेरो घर उतै बैतडी (दशरथचन्द नगरपालिका–५) हो। उतै जा भन्छन्। अब मर्ने उमेरमा म कहाँ जाउँ?’ खिइँदो उमेरले उनको आत्मविश्वास पनि गुमिसकेको छ।
गगन नजिकैको बिप्पेकटाल बजारमा सिलाइ–कटाइको काम गर्दै आएका छन्। उनकोमा धेरैजसो पुराना तथा उध्रिएका लुगाहरु सिलाउने मात्रै पुग्छन्।
‘सिलाइको सीप पुरानो भयो। त्यही अनुसारको मात्र आउँछ,’ गगनले सुनाए। पुराना लुगा सिलाएबापत आउने पैसाले जेनतेन हातमुख जोर्न पुगेको छ। सिलाइ मेसिन पनि उनलाई पाटन नगरपालिकाले दिएको हो।
गगनका ३ छोरा छन्। जेठा छोरा १५ वर्षका भए। उमेरअनुसार उनी अहिले विद्यालय तहको अध्ययनमा हुनुपर्ने हो। तर घरको नाजुक अवस्थाले उनलाई भारत पुर्याएको छ। भारतमा दैनिक मजदुरी गरेर जोडेको पैसा घर पठाउँछन्।
जेठो छोरा ५ कक्षामा पढ्दा पढ्दै भारत गएको गगनले सुनाए। ‘५ कक्षामा पढ्दै थियो। घर खर्च त चलाउनु पर्यो भनेर भारत गयो। अहिले होटेलमा काम गरिरहेको छु भन्छ,’ गगनले सुनाए।
भूमि आयोगले जग्गा दिने आसमा गगनको परिवार
राष्ट्रिय भूमि आयोग बैतडीले पाटन नगरपालिकामार्फत् भूमिहीन, सुकम्बासीहरुको तथ्याङ्क संलकन गरेको थियो। करिब १ वर्ष भयो तथ्याङ्क संकलन गरेको पनि। तर गगनसहित पाटन–८ का अरु भूमिहनहरु आफ्नो सन्दर्भमा आयोगले के गरिरहेको छ भनेर अझै जानकार छैनन्।
गगनकी श्रमती पार्वतीले भनिन्, ‘भूमि आयोगका फारम भर्न आएका थिए। १ वर्ष हुन लाग्यो। त्यसपछि के भयो केही थाहा छैन।’
भूमि आयोगले जमिन उपलब्ध गराए मागेरै भए पनि गुजारा चलाउने बताउँछिन् पार्वती।
‘सानो कटेरो अड्याउने जग्गा मात्रै भयो भने पनि हामी मागेर खाने थियौँ। बस्नका लागि स्थायी ठाउँ त हुन्थ्यो,’ पार्वती भन्छिन्।
लगत संकलन गरेको समयमा भूमिहीन दलीत र भूमिहिन सुकम्बासीको रुपमा पाटन नगरपालिका ८ मा ५ जनाले अनुसुची ३ अन्तर्गतको फाराम भरेका छन्। अव्यवस्थित बसोबासीको समस्या भएका ५१ जनाले वडामा निवेदन दिएको वडा सचिव शंकर प्रशाद भट्टले बताए। उनले भने, ‘५ जना भूमिहीन दलित र भूमिहीन सुकम्बासीले फारम भरेका छन्।’
पाटन नगरपालिकाले लगत संकलन गरेको भए पनि राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालय बैतडीमा भने अपुरो फाइल पठाइएको छ। यकिन तथ्याङ्क संकलन गरी को वास्तविक सुकम्बासी हो, को होइन भनेर छुट्याएर अनलाइन इन्ट्री गर्नुपर्नेमा पाटन नगरपालिकाले त्यो नगरेको भूमि आयोगका अध्यक्ष कपिल ऐरले जानकारी दिए।
‘मन्त्रालयमा सम्झैता भएको छ, मेयरसाप नै गएर। तर सम्झैताअनुसार नगरपालिका कम नै गदैन। कतिपटक हामीले पत्र पठाएका छौं। मौखिक भनेका छौं। जमिन कहिले दिनुहुन्छ भनेर मलाई पनि त्यताबाट फोन आउँछन्,’ अध्यक्ष ऐरले भने।
गगनलाई मात्र नभइ यहाँका ५ जनालाई तत्काल जग्गा उपलब्ध गराउन अति आवश्यक रहेको स्थानीय समाजसेवी गगन बिष्टको भनाइ छ। उनी भन्छन्, ‘उनीहरुलाई घाम लागे पनि समस्या, हिमपात भए पनि समस्या छ। बाढी पहिरोले पनि समस्या नै पार्ने जोखिम छ,’ बिष्टले भने, ‘जग्गाका लागि धेरै ठाउँ सिफारिस लगाएकै हुन्छौँ। कसैले सुनेका छैनन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।