काठमाडौं- नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले कांग्रेस नबिग्रिएको बताउँदै त्यस्तो अफवाह फैलाउनेले माफी माग्नुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘भुकम्प आउँछ भनेर हल्ला फैलाउनेलाई प्रहरीले कारबाही गर्थ्यो। कांग्रेस अप्ठ्यारोमा छ। उठ्दैन, पार लाग्दैन भन्ने हामी अभियुक्त हौं कि होइनौं। यस्तो अफवाह फैलाउनेहरुले क्षमा माग्नुपर्छ। यस्तो हल्ला गर्नु पनि अभियोग हो।’
उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मातिर लक्षित गर्दै नेतृत्व अलमलमा परेका कारण संकट सिर्जना भएको बताए। चालक अलमलमा परे गाडी दुर्घटना हुने दृष्टान्त अघि सारे।
उनले भने, ‘पहिले मष्तिस्कमा भएको अलमल हटायौं भने कांग्रेस अप्ठ्यारोमा छैन। सरकारमा हामी छौं। त्यसबाट राम्रो काम गर्यौं भने सबै राम्रो हुन्छ।’ बाहिरबाटभन्दा पनि कांग्रेस अन्तरकलहका कारण सधैं अप्ठ्यारो पर्ने गरेको उदाहरण पेस गरे।
बालकृष्ण खाणलाई निलम्बन गर्ने कुरा सही नभएको उनको भनाइ छ। अन्य पार्टीहरुले आफ्नो नेता र कार्यकर्ता जोगाउने गरेकझ उल्लेख गर्दै उनले कांग्रेसले त्यस्ता आदर्श छाड्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘हाम्रो परिवारको कोही सदस्यलाई आरोप लाग्दा वकिल खोज्छौं कि पक्डिनका लागि लैजान्छौं? कांग्रेस घर हो, दोषी वा निर्दोष भन्ने प्रमाणित नहुँदासम्म बहस नै गर्नुहुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।