प्रदीप पौडेल (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधामन्त्री, मुख्यमन्त्री र मन्त्री २ पटकमात्र हुन पाउने व्यवस्था गर्नुपर्ने धारणा अघि सारेका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै पौडेलले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु २ पटक मात्रै बन्न पाउने व्यवस्था गर्नुपर्ने अवधारण अघि सारेका हुन्।
‘प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी हुन नपाइने व्यवस्था गरौं,’ उनले भने, ‘४ पटक भन्दा बढी संघीय सांसद बनाउन नहुने, प्रदेशमा २ पटक सांसद बन्ने र समानुपातिकमा १ पटक मात्रै अवसर दिने व्यवस्था गरौँ।’
उनले यसका लागि निर्वाचन प्रणाली सुधार गर्ने व्यवस्था गर्नुपर्ने पनि दाबी गरे। ‘प्राइमरी इलेक्सनको व्यवस्था गरेर टिकट वितरण गरौँ,’ उनले भने, ‘नेतृत्व सबै सदस्यले भोट हालेर चुन्ने व्यवस्था गरौं।’
पौडेलले प्रतिनिधि सभाका सदस्य संख्या २०१ मा सीमित गर्नुपर्ने अवधारणा अघि सारे। समानुपातिक प्रतिनिधित्व हुनेगरी २०१ सिटमै प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् सांसद चुनिने व्यवस्था हुनुपर्ने पौडेलको भनाइ छ।
प्रदेशमा पनि समावेशी प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने पौडेलले प्रस्ताव राखे। उनले राष्ट्रिय सभा ३५ सदस्यीय बनाउनुपर्ने प्रस्ताव अघि सारे।
पौडेलले भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानबिन गर्न कांग्रेसले सहयोग गर्नुपर्ने धारणा उनले राखे।
‘कांग्रेसले चर्चित भ्रष्टाचार काण्डको छानबिनको नेतृत्व गर्नुपर्छ,’ उनले भने।
उनले सरकारमा रहँदा के गरियो भन्ने कुराको समीक्षा हुनुपर्ने माग गरे। आगामी निर्वाचनमा मत माग्न जाँदा हामीले के गर्यौँ र मत देउ भन्ने हो त्यो स्थिति हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।