काठमाडौं– कांग्रेस नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने ‘प्रस्ताव’को केन्द्रीय सदस्य ध्रुव वाग्लेले प्रतिवाद गरेका छन्। केन्द्रीय समितिको जारी बैठकअन्तर्गत शुक्रबार आफ्नो धारणा राख्दै वाग्लेले खाणलाई फसाइको हुनसक्ने आशंका गरे। त्यसकारण अदालतको फैसला कुर्न आग्रह गरे।
उनले भने, ‘अदालतको फैसलापछि मात्रै कोही दोषी प्रमाणित हुन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पनि दर्जनौं मुद्दा छन्। उनी फेरि राष्ट्रपतिको उम्मेदवार बन्न खोज्दैछन्। हाम्रो गाडीमा कसैले २ केजी गाँजा राखिदियो। मुद्दा चलाइयो। न्यायलयको निर्णय फर्खिनुपर्छ कि पर्दैन? यसमा विवेक राख्न साथीहरुलाई आह्वान गर्छु।’
आफू नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदा खाणलाई बुटवलमा जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनाएको पनि वाग्लेले स्मरण गरे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मातर्फ संकेत गर्दै उनले अर्थशास्त्रको फेस भ्यालु र रियल भ्यालु पढाए।
उनले सभापति देउवा रियल भ्यालु भएको मुद्रा अर्थात् सुनको सिक्का (जसलाई कच्याकुचक पार्दा पनि मूल्य हुन्छ) र महामन्त्रीद्वयहरु कागजको नोट (कच्याककुचक पार्दा मूल्यहीन) हुने आसय प्रकट गरे।
उनले थपे, ‘रियल भ्यालु र फेस भ्यालु भन्ने हुन्छ। फेस भ्यालु बढाउन केही दल लागेका छन्। त्यही बाछिटा हाम्रो पार्टीमा पनि पर्दै गरेको छ। रियल भ्यालु बढाउनका सट्टा फेस भ्यालु बढाउन सामाजिक सञ्जालमा कुन्ठा र विद्वेष फैलाउन थालेको देख्छु। हामी सामाजिक सञ्जालले फजुल आतिसबाजीबाट डराएर भाग्नुपर्ने भएको छ। त्यसविरुद्ध किन बनाउँदैनौँ संयन्त्र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।